१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

शिविरले फर्कायो आँखाको ज्योति

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–२, जल्पाका ३३ वर्षीय पोमबहादुर सारुले २० वर्षपछि उज्यालो संसार देखे । उनले कक्षा ६ पढ्दै गर्दा दुवै आँखा धमिलो भएर अध्याँरो नै भएको थियो । त्यसपछि बल्ल उज्यालो संसार देख्न पाउँदा धेरै खुसी लागेको बताए ।

शिविरले फर्कायो आँखाको ज्योति

‘आँखा नदेखेपछि पढाइ छुट्यो,’ उनले भने, ‘त्यसपछि अहिले बल्ल बाहिरी संसार देख्न पाएँ ।’ उनका बुवा खेमबहादुर सारुका अनुसार दुवै आँखा बन्द भएपछि खर्च धेरै लाग्छ भनेर उपचारमै नलगेको बताए ।

‘हामीसँग पर्याप्त पैसा पनि भएन,’ उनले भने, ‘फेरि दुवै आँखाको शल्यक्रिया गर्न धेरै नै खर्च लाग्ला भनेर अहिलेसम्म यत्तिकै बसेका थियौँ ।’ यसपटक भने पूर्वखोला गाउँपालिकाले गाउँमै आँखा जाँच शिविर राखेका बेला चिकित्सकलाई देखाएका थिए । मोतियाविन्दु भएकाले दुवै आँखा शल्यक्रिया गर्ने योजना बन्यो । ‘दुवै आँखाको शल्यक्रिया गाउँमै गर्न पाउँदा अझ धेरै खुसी लागेको छ,’ उनले भने, ‘हामीजस्तालाई धेरै सहज महसुस भएको छ ।’

जल्पाकै ७९ वर्षीय सहवीर सारुले एउटा आँखाले देख्न नसकेको वर्षौं भएको थियो । एउटा आँखाले नदेख्ने भएपछि एउटाको भर पर्नु परेको थियो । गाउँपालिकाले गाउँमा चलाएको आँखा शिविरमा पुगेर देखाए । उनलाई शल्यक्रिया गर्नुपर्छ भनेपछि चिन्ता परेको थियो । गाउँपालिकामै र निःशुल्क आँखाको शल्यक्रिया गर्न पाउँदा उनी खुसी भए । ‘तानसेन वा भैरहवा गएर आँखाको शल्यक्रिया गर्नु परेको भए २०/२५ हजारले पुग्दैनथ्यो,’ उनले भने ।

पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहकी ८६ वर्षीया यमकुमारी भट्टराईले जति बाँचिन्छ त्यतिन्जेल राम्रोसँग देख्न पाउने भएपछि खुसी लागेको बताइन् । पहिला नजिकै पनि नदेख्ने, देखे पनि तिरमिर हुने, घरि देख्ने नदेख्ने समस्या थियो । आँखा जाँच गर्दा मोतिबिन्दु लागेको थाहा भएकाले शल्यक्रिया गरेको उनले बताइन् । गाउँपालिकाले गाउँमै राखेको निःशुल्क शल्यक्रियाले अझ खुसी लागेको बताइन् ।

‘मलाई अब आँखाले देख्न पाइएला जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘जति बाँच्छु त्यतिन्जेलसम्म राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ ।’ पूर्वखोला गाउँपालिकाको सिलुवा, रिङ्नेरह, वीरकोट, जल्पा, देवीनगर, हेक्लाङका ६४ जनाले मोतिविन्दु र अन्य समस्या भएकाहरूले आँखा देख्न पाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

पूर्वखोला गाउँपालिका र स्वास्थ्य शाखाको आयोजना साथै पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा गरिएको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । जसले गर्दा विपन्न, अःसहाय परिवारका धेरैले आँखाको ज्योति फर्काउन सफल भएको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए । गाउँपालिकाको नीति तथा कार्यक्रममा सबै वडामा आँखा शिविर राख्ने निर्णय भएअनुसार स्क्रिनिङ गरिएको हो । गाउँपालिकाको ६ वटै वडामा १ हजार १७ जनाले आँखा परीक्षण गराएका थिए । जसमा ८२ जनालाई मोतिविन्दु देखिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । गाउँगाउँमा पुगेर शल्यक्रिया गर्नु पर्ने बिरामीको छनोट गरेर गाउँपालिकामा ल्याएर शल्यक्रिया गरिएको हो ।

‘कतिपय शल्यक्रिया गर्न डराएर नआएको हुनसक्छ,’ वडाध्यक्ष कृष्णप्रसाद भटराईले भने, ‘किनभने शल्यक्रिया गर्नुपर्ने जति आएनन् । सकेसम्म धेरैलाई सहभागी गराउने भन्ने भए अनुसार ८२ जनामध्ये ६४ जनाको शल्यक्रिया गरिएको छ ।’ शल्यक्रियाका लागि आँखा रोग विशेषज्ञ डा. सुचन पुन र उनका सहयोगीहरू आउटरिच कोअर्डिनेटर सन्तोष दर्जी, अप्टिसियन पुष्पा थापा, मीनबहादुर कार्की, शम्भु आचार्यलगायतले सघाएका थिए । शल्यक्रिया गरेका बिरामीको आँखा पुनःपरीक्षण गरी घर पठाइएको छ ।

भौगोलिक विकटता र विपन्नताका कारण आँखा नदेखे पनि कसैलाई नभन्ने र देख्न छाडेपछि दृष्टिविहप्न भएर बस्न नदिनका लागि मोतिविन्दु देखिएकाको शल्यक्रिया गर्ने व्यवस्था गाउँपालिकाले मिलाएको पालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । ‘हाम्रो गाउँ समाजमा आँखाले नदेख्दा झारफुक गर्ने र लामाधामी गर्नेको पनि कमी छैन,’ उनले भनिन्, ‘कतिपयको अन्धविश्वासका कारण अझै पनि शल्यक्रिया गर्न नमानेका हो । जनचेतना अझै पुगेको छैन ।’ निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविरमा देखाउनसमेत लजाउने र ढाँट्ने प्रचलन रहेको रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले बताए ।

प्रकाशित : फाल्गुन २२, २०८० १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?