कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दूध बिक्री नहुने र भुक्तानी समयमा नपाउने समस्याले किसान मर्कामा

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाटका किसान शिव कार्कीले गत भदौ महिनादेखि दूध बिक्री बापतको भुक्तानी पाएका छैनन् । व्यवसायिक रुपमा पशुपालन गर्दै आएका कार्कीले समयमा नै भुक्तानी नपाउँदा कामदार, पशु आहार र बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

दूध बिक्री नहुने र भुक्तानी समयमा नपाउने समस्याले किसान मर्कामा

लामो समयदेखि आफूहरुको पाउनुपर्ने भुक्तानी नपाएपछि विरोधमा उत्रिनु परेको उनको भनाइ छ । कार्कीको मात्र १० लाख भन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ ।

‘लाखौँ लगानी गरेर पशुपालन सुरु गरियो, बैंकको ब्याज तिर्न नसकेर धौधौ परेको समयमा उत्पादन भएको दूध पनि बिक्री नहुने अवस्था आयो,' कार्कीले भने, ‘कृषि प्रधान मुलुकमा नेपाली किसानले उत्पादन गरेको दूध खरिद नगरेर विदेशबाट डेरी आइटम आयात गर्ने सरकार कस्तो हो ?’

दूधको उचित मुल्य नपाएको र खपत कम भएको विरोधमा जिल्लाका किसानले शुक्रबार सडकमा दूध पोखेर बिरोध जनाएका थिए । किसानले उत्पादन गरेको दूध बिक्री नहुने र मूल्य नपाएपछि जिल्लाका किसानले संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका हुन् । कार्कीको जस्तै पश्चिम नवलपरासीका अधिकांश किसानले दूधको बजार र उचित मूल्य नपाउदा मर्कामा परेका छन् ।

जिल्लामा मात्र किसानले डेरी र पाउडर उद्योगसँग ५ करोड भन्दा बढी रकम पाउन बाँकी छ । गाउँघरमा खपत नहुने र दूध संकलन केन्द्रमा बिक्री गर्दा समयमा भुक्तानी नहुँदा व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको सुनवलका किसान निर्मला लुईटेल बताउँछिन् ।

‘आफुलाई आवश्यक्ता हुँदा र उद्योग चल्दा दूध खोसाखोस गर्ने, अनि उद्योग संचालन भएन भनेर किसानको दूध सडकमा फाल्न बाध्य पार्ने उद्योगीलाई कसले कारवार्ही गर्ने ?’ उनले भनिन्, ‘त्यसैत युवा विदेश पलायन भएका छन् । भएकाहरुले पनि स्वदेशमा केही गरौँ भन्दा सरकारले किसानको मर्का नबुझेजस्तो गरेर किसानको अपमान गरेको छ ।’

किसानले समयमा भुक्तानी नपाएको गुनासो गरिरहँदा दूध संकलन गर्ने सहकारी तथा डेरीहरुले भने दूध प्रशोधन गर्ने ठूला उद्योगका कारण समस्या सृजना भएको बताउँदै आएका छन् । ठूला उद्योगले समयमा भुक्तानी नदिने र संकलन भएको दूध पनि खरिद गर्न नमानेको कारण किसानलाई समयमा नै भुक्तानी दिन समस्या हुने गरेको बर्दघाटस्थित चन्द्रोदय बहुउद्देश्यसीय सहकारी संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमल्सिनाले बताए ।

नेपालमा दूधको पाउडरमा सरकारले कर बढाउँदा भारतबाट अवैध रुपमा दुग्धजन्य पदार्थ भित्रिरहेका छन् । नेपाली पाउडर भन्दा भारतबाट सस्तोमा भित्रिन थालेपछि ठूला व्यवसायीले दूध खरिद गरेर पाउडर बनाउनु भन्दा भारतबाट आयात गरेर बिक्री गर्न थालेपछि किसानहरु प्रत्यक्ष मारमा परेका छन् । सरकारले मंगलबार मात्र विदेशबाट डेरी उत्पादन आयात गर्न रोक लगाउने निर्णय गरेपछि भने नोपली किसानले बाँकी रहेको बक्यौता रकम पाउने आशा बढेको जनाएका छन् ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?