२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रिब्दीकोटका ६८ श्रमिकलाई गाउँपालिकाको सम्मान 

माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिकाले पालिकाभित्रका श्रमिकलाई पोसाकसहित सम्मान गरेको छ । सबै वडाबाट तथ्यांक संकलन गर्न लगाएर उनीहरुलाई सम्मान गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत् आठ वटै वडाका श्रम गरेर बिहान बेलुकी चुल्हो बाल्नेहरुलाई गाउँपालिकामा भेला गराएर सम्मानसहित पोसाक बितरण गरेको हो । 

रिब्दीकोटका ६८ श्रमिकलाई गाउँपालिकाको सम्मान 

दिनभर काम गर्ने र त्यही कमाईबाट घरपरिवार पाल्नेहरुको कामको सम्मान गर्न यो कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए ।

ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरवस्थानका ८, कुसुमखोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मानका लागि बोलाइएको हो । गाउँमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकलाई यसरी सम्मान गर्दा काम गर्नमा आत्मसम्मान बढ्ने अध्यक्ष कार्कीले बताए ।

‘श्रमिकलाई काम गर्ने अझ हौसला बढोस् भन्ने चाहना हो,’ उनले भने, ‘यसबाट आत्मसम्मान बढ्ने र भोलिका दिनमा केही परिवर्तन हुने अपेक्षा छ ।’ गाउँमा बसेर डकर्मी, सिकर्मी, साथै अन्य खेतबारीमा विविध काममा श्रम गर्नेहरुलाई पोसाकसमेत दिइएको छ । दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई सम्मान गर्दा भोलिका दिनमा अझ जिम्मेवारीपूर्वक काम गर्न सहयोग पुग्ने उद्देश्य रहेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । उनका अनुसार गाउँघरमा बसेर पनि श्रम गरेर जिविकोपार्जन गर्नेहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसरी सम्मान गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले काम गर्ने तर बचत गर्ने बानी नपार्ने, मदिरा सेवन गरेर घर परिवारसँग झैँ-झगडा गर्न बानी छुटाउनका लागि परामर्शसमेत दिइएको बताए । मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानी नोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।

श्रमको उचित मुल्य पाउन नसके पनि पाएको रकमलाई सही ढंगले बचत गर्ने बानीको विकास गर्नका लागि सचेतना जरुरी रहेको पत्रकार तथा प्रशिक्षक रामप्रसाद न्यौपानेले बताए । सोही अवसरमा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाको रकमबाट ६५ जना विपन्न समुदायलाई स्वास्थ्यबीमासमेत गरिदिएका छन् ।

३ हजार ५ सय रुपैयाँ तिरेपछि ५ जनासम्मको परिवारले स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्नेगरी काम गरेको अध्यक्ष कार्कीले बताए । अध्यक्ष कार्कीले निर्वाचन अघि नै आफुले गाउँपालिकाबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेको र सोही अनुसार बीमा गर्न सहयोग गरेको उनले बताए ।

कार्यक्रममा सहभागी श्रमिकहरुले बचत गर्ने बानीको विकास गर्ने, मदिरा सेवलाई निरुत्साहित गर्दै जाने र आगामी दिनमा श्रम गरेर पारिवार सुख सुविधा लिने प्रतिवद्धता जनाएको गाउँपालिकाका अधिकृत रुकलाल भट्टराईले बताए ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?