६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

नागरिकलाई सूचना पाउन अझै असहज : प्रमुख सूचना आयुक्त गुरुङ

काशीराम डाँगी

रोल्पा — राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जनतालाई सूचना प्राप्त गर्न अझै  मुस्किल अवस्था भएको बताएका छन्। सोमबार रोल्पाको लिवाङमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले अझै चनाखो भएर सूचना प्रदान गर्न अघि सर्नु पर्ने बताए।

नागरिकलाई सूचना पाउन अझै असहज : प्रमुख सूचना आयुक्त गुरुङ

'सूचनाको हक कार्यान्वयन गर्नु भनेको आफ्नो जिम्मेवारीबारे अरुलाई जानकारी गराउनु हो,' उनले भने, 'राष्ट्र सेवकले नियमित गर्ने काम र कर्तव्यलाई नागरिकको जानकारीका लागि सूचना बाँड्नु कानुनी व्यवहार पनि हो।'

उनले सूचनाको हक प्रति सम्मान गर्न सचेत नागरिकको भूमिका महत्त्वपूर्ण हुने र कर्मचारीले स्वार्थरहित तरिकाले काम गर्नुपर्ने बताए। रोल्पा नगरपालिकासँगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा पत्रकार, कर्मचारी र जनप्रतिनिधि समेतको उपस्थिति थियो।

कार्यक्रममा आयोगका सचिव होमप्रसद लुइँटेलले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नागरिकको अधिकार जोगाउन लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्नुपर्ने बताए। कार्यक्रममा सहायक प्रजिअ लेखनाथ खतिवडाले जिल्लाभरका कार्यालयमा सूचना अधिकारी चयन गरेर नागरिकलाई सूचना बाँड्ने प्रणाली निर्माण गरिएको बताए ।

रोल्पा नगरपालिकाकि उप प्रमुख गीता आचार्यले जनताको काममा छिटोछरितो गर्दा सेवामुखी हुने बताइन् । नागरिक र स्थानीय सरकार बीच राम्रो सम्बन्ध स्थापित हुन सके सेवा प्रवाहमा सहज हुने उनको धारणा छ।

पत्रकार महासंघका अध्यक्ष नवीन लोचन मगर, महासंघकै पूर्व अध्यक्षहरु खेम बुढा, महेश न्यौपाने लगायतले सूचनाको हकको प्रयोग पत्रकारले मात्रै गर्ने र सूचना माग्ने काम पत्रकारको मात्रै भएको भन्ने समुदाय र कर्मचारी बीचमा भ्रम रहेको टिप्पणी गरे।

प्रकाशित : माघ २९, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?