६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन सुरु

माधव अर्याल

पाल्पा — अगुवा मानवअधिकारकर्मीहरुले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गराउन सरकारले एमालेको सहयोग खोजे पनि  यो प्रक्रिया अहिले नै टुंगोमा पुग्ने सम्भावना कमै रहेको बताएका छन् ।

मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन सुरु

नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलनमा सहभागी मानवअधिकारकर्मी अगुवाहरुले एमालेले विभिन्न स्वार्थ मिलेर पास गराउन सहमति दिए पनि यो प्रक्रिया फेरि अड्किने धारणा राखे ।

मानवअधिकारवादी चरण प्रसाईले भने, ‘बहुमत सांसदबाट पारित गर्न सक्ने अवस्था हुँदा-हुँदै वर्तमान सरकारले सहमतिबाटै टुंग्याउन खोजेको देखिएको छ । तर अहिले नै यो टुंगोमा पुग्ने देखिरहेको छैन ।'

उनले राष्ट्रिय सहमति गरेर संशोधन विधेयक पारित गर्दा राजनीति विजय भए पनि त्यो मान्य नहुने बताए । अहिलेकै विधेयकलाई पीडित र अन्तर्राष्ट्रिय समुदायले नमान्ने बताउँदै संयुक्त राष्ट्र संघले पनि नमान्ने उनले बताए ।

‘यो प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम र सर्वोच्च अदालतको आदेश बमोजिम साथै पीडितलाई मुटुमा राखेर विधेयक अघि बढाए मात्र सहयोग गर्ने घोषणा संयुक्त राष्ट्र संघले भनेको छ,’ उनले भने ।

मानवअधिकारकर्मी सुदीप पाठकले सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा नमिलेका कुरा मिलाउन खोजेको देखिएको बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन पछिल्लो समयमा दौडधुप देखिए पनि पीडित पक्षलाई न्याय हुनुपर्ने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारकर्मी इन्द्र प्रसाद अर्यालले सशस्त्र युद्धका घटनामा कम सजाय दिने, मानवअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको सहमतिका विषयमा लगायतमा एमालेले राखेको फरक मतलाई सम्बोधन गर्न खोजेको देखिएको बताए ।

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नागरिकले आन्दोलन गरेर नेतालाई सत्तामा पुर्‍याइदिए पनि उनीहरुले लात हानेर निकालिदिएको बताए । उनले नागरिक आन्दोलनको अस्तित्वका लागि फेरि सशक्त र प्रभावकारी आन्दोलनको आवश्यकता रहेको बताए ।

सम्मेलनमा देशभरबाट २ सय बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रकाशित : माघ २९, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?