२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पुरातत्त्व विभागद्वारा ढुंगाका मूर्ति र गौशाला हटाउन निर्देशन

सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठी आयोजना गरेर १७ वटा ढुंगाका मूर्ति बनाइएको थियो भने दोहनीकोटमा छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै कपिलवस्तु नगरपालिकाले गौशाला निर्माण गरेको हो

लुम्बिनी — कपिलवस्तु नगरपालिका–९ स्थित शाक्यहरूको नरसंहारस्थल सगरहवामा बनाइएका पत्थरका मूर्ति र दोहनीकोटमा निर्माण गरिएको गौशाला तत्काल त्यहाँबाट हटाउन पुरातत्त्व विभागले निर्देशन दिएको छ । ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा स्थललाई असर गर्ने हुँदा ढुंगाका मूर्ति र गौशाला अन्यत्र सार्न विभागले लुम्बिनी विकास कोष र नगरपालिकालाई पत्राचार गरेको हो । 

पुरातत्त्व विभागद्वारा ढुंगाका मूर्ति र गौशाला हटाउन निर्देशन

‘त्यहाँ राखिएका ढुंगाका मूर्ति र नगरपालिकाले निर्माण गरेको गौशाला उपयुक्त ठाउँमा छैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘त्यसले ती दुवै त्यहाँबाट हटाउन भनेका हौं ।’ पुरातात्त्विक ठाउँको स्वरूप परिवर्तन हुँदा राम्रो मानिँदैन । त्यहाँ मानवीय क्रियाकलापले नयाँ नयाँ संरचना सिर्जना भएका छन् । यसले पुरानो परम्परा र मान्यतालाई द्विविधामा पार्ने हुँदा समस्या थपिने सम्पदाका जानकार बताउँछन् ।

सगरहवालाई पर्यटकीय गन्तव्य बनाउने भन्दै कोषले गत पुस २३ देखि माघ ८ सम्म राष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठी नै आयोजना गरेर त्यहाँ ढुंगाका मूर्ति कुँद्न लगाएको थियो । सगरहवामा भएको कठोर, ऐतिहासिक र त्रासदीपूर्ण घटनासँगै शान्तिका लागि गरिएको प्रयासका गाथा पत्थर–कलामा कुँदिएका छन् । देशभरका ख्यातिप्राप्त १५ मूर्तिकारले १७ वटा पत्थरमा आफ्नो कला, सीप र सिर्जना उजागर गर्दै मूर्ति बनाएका हुन् ।

कौशल नरेश बिढुरकको सगरहवा आक्रमणमा ९ हजार ९ सय ९० जनाको मृत्यु भएको कुरा चिनियाँ यात्री ह्वेङ साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । चिनियाँ यात्री ह्वेङसाङले तिलौराकोटदेखि उत्तर रहेको सगरहवामा हजारौं स्तूप बनाइएको उल्लेख गरेका छन् ।

विज्ञहरूका अनुसार सम्पदा क्षेत्रमा नगरी नहुने काम मात्र गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला एचआईए (हेरिटेज इम्प्याक्ट एसिसमेन्ट) गर्नुपर्ने पहिलो सर्त हो । एचआईएले त्यो काम गर्दाको प्रभाव मूल्यांकन गर्छ र त्यसैका आधारमा काम गर्न मिल्न नमिल्ने निर्क्यौल गरिन्छ । तर, यहाँ एचआईए गरिएको छैन । सम्पदाविज्ञसँग सरसल्लाह गरिएको छैन । हचुवाका भरमा यी सबै काम गर्न खोजिएको छ । ‘यसले गम्भीर समस्या थप्ने निश्चित छ,’ एक सम्पदाविज्ञले भने, ‘त्यसको मूल्य भविष्यमा हामीले नराम्ररी चुकाउनुपर्नेछ ।’

पुरातात्त्विक महत्त्वको कपिलवस्तु नगरपालिकास्थित दोहनीकोटलाई अहिले नगरपालिकाले छाडा चौपाया राख्ने ठाउँ बनाएको छ । लुम्बिनी–तौलिहवा सडक खण्डको दोहनीमा बाटोसँगै सटेर दक्षिण रहेको कोटमा अहिले डेढ सय बढी चौपाया राखिएका छन् । नगर क्षेत्रमा छाडा चौपायाले समस्या दिएपछि पर्खाल लगाएर साढे ३ बिघा जमिनमा चौपाया राखिएको हो ।


गाईबस्तुको दिसापिसाबले पुरातात्त्विक बस्तु नासिने खतरा रहेको सरोकारवाला बताउँछन् । भुइँमा पिसाब चुहिएर जमिनमुनि पुग्छ । त्यसले हड्डी, हस्तीहाडलगायतका पुरातात्त्विक वस्तुलाई नाश गर्ने खतरा हुने विज्ञहरू बताउँछन् । पिसाबमा एसिडलगायतको रासायनिक तत्त्व हुन्छ । त्यसको रासायनिक प्रतिक्रियाले पुरातात्त्विक वस्तु नासिने खतरा रहेको पुरातत्त्वविद्हरू बताउँछन् । दोहनी पनि महत्त्वपूर्ण पुरातात्विक स्थल हो ।

चिनियाँ तीर्थयात्री ह्वेङसाङले तिलौराकोट वरिपरि १० वटा भग्नावशेषमा परिणत सहर देखेको कुरा गरेका छन्, त्यसमध्येको दोहनी पनि एउटा भएको अनुमान गरिएको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । प्राचीनकालमा तिलौराकोटबाट लुम्बिनी जाँदा दोहनी विश्रामस्थल हुन सक्ने पनि पुरातत्त्वविद्हरू बताउँछन् ।

त्यहाँ जियोफिजिक्स सर्भे गर्दा प्राचीन मानव बस्ती रहेको पाइएको थियो । त्यहाँ स्तुपाकार अग्लो ढिस्को छ । प्राचीन इनार पनि छ । पुरातात्त्विक सम्पदालाई जोगाउन चौपायास्थल हटाउन कपिलवस्तु नगरपालिकालाई पत्राचार गरिसकेको विभागका प्रवक्ता कुँवरले बताए । नगरपालिकाले छिट्टै हटाउन प्रतिबद्धता गरेको पनि उनले बताए ।

प्रकाशित : माघ २८, २०८० १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?