१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

छोरीमाथि हुने विभेद अन्त्य भएको छैन : सांसद बानियाँ

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका सांसद कन्हैया बनियाँले समाजमा छोरीमाथि गरिने विभेदको अन्त्य हुन नसकेको बताएका छन् । उनले परापुर्वकालदेखि नै छोरीचेलीलाई घरको काममा केन्द्रित गराउन खोज्नुले किशोरी तथा महिला पछि परिरहेको बताए । 

छोरीमाथि हुने विभेद अन्त्य भएको छैन : सांसद बानियाँ

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियामा 'बृहत् र्‍याली तथा जनचेतनामूलक कार्यक्रम’ पश्चात् आयोजित कार्यक्रममा बोल्दै उनले आफू यस्तो कुरिती मधेसी समुदायमा बढी रहेको जनाए ।

उनले यसबाट माथि उठेर त्यस क्षेत्रका किशोरीको शैक्षिक तथा स्वास्थ्य विकासका कार्यक्रम ल्याउन आफू लागिपर्ने बताए । 'म पनि मधेसमा जन्मिएको मानिस, मैले हरेक दिन हरेक घरका किशोरीले भोगिरहेका अप्ठ्यारा देखेको छु,' उनले भने, 'अब पनि यस्तै स्थिति रहने हो भने अन्य समुदायका किशोरीको तुलनामा यस क्षेत्रका किशोरी धेरै पछि पर्नेछन् ।'

उनले शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा मधेसका छोरीको सहभागिता न्यून रहेकाले सो संख्या बढाउन हरेक परिवार, स्थानीय सरकार साथै प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । 'विकासको अवधारणा हरेक समुदायका लागि बराबर हुनुपर्छ,' उनले भने, 'घरपरिवारलाई चेतना दिई किशोरीलाई घरबाहिरका कार्यमा समेत अघि बढाउन जरुरी देखिन्छ । पहिलेको भन्दा अवस्था केही बदलिए पनि यत्तिले मात्र समग्र समुदायको समस्या हल हुँदैन ।'

कार्यक्रममा उपस्थित किशोरीले समाज किशोरीमैत्री नभएको गुनासो गरेका थिए । उनीहरूले अझै पनि हिंसा, बालविवाह र दाइजो प्रथाको सिकार भएको बताए । 'जति बोले पनि समाजले सुन्दैन', उनीहरुले भने, 'स्थानीय सरकारले किशोरीको सवालमा काम गर्नुपर्छ ।'

कार्यक्रममा उनीहरूले सरोकारवालासँग आफूहरुमाथि अझै विभेद किन ? घरमा, आफन्तीमा, पढाइमा र समाजमा भेदभाव किन ? जस्ता प्रश्न राखेका थिए । साथै आफूले भोगेका पीडालाई नाटक, गीत र गजलमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १ हजारभन्दा बढी किशोरकिशोरी उपस्थित थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्र र लुम्बिनीका वडा नम्बर १, २, ३, ४, ७, १०, ११ र १२ मा सञ्चालित ३२ वटा संवाद केन्द्रले नगरपालिकाका विभिन्न ठाउँबाट र्‍यालीसमेत निकालेका थिए ।

प्रकाशित : मंसिर २३, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?