कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन

सन्जु पौडेल

तिलोत्तमा — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब र्‍याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन

देवकोटाचोकबाट सुरु भएको र्‍याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल हुंदै बुद्धचोकमा पुगेर समापन भएको उनले बताए । र्‍यालीमा सहभागीहरुले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिएको बताए । मन्त्री पाण्डेयले शान्तिपूर्ण आन्दोलनले नमाने प्रचण्डजी जंगल गए जस्तै भने सन्तोष पाण्डे पनि सोहीअनुसार अगाडि बढ्न सक्ने चेतावनी समेत दिए । उनले अब १२ जिल्लाका नागरिक आन्दोलनमा सहभागी हुने बताए ।

सञ्जालका अध्यक्ष ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गरे । उनले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तिलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने,‘आन्तरिक हवाइ उडान बन्द गर्नु अगावै हाम्रो माग पूरा होस् । नेपाली जनताको करबाट बनेको विमानस्थल हो । यसलाई सञ्चालन गर्नैपर्छ ।’

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : मंसिर २२, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?