कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

नियमित अन्तर्राष्ट्रिय उडान माग्दै भैरहवामा प्रदर्शन

माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै निजी क्षेत्रले शुक्रबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा जिल्लाका विभिन्न ३२ वटा संघसंस्था र सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

नियमित अन्तर्राष्ट्रिय उडान माग्दै भैरहवामा प्रदर्शन

प्रदर्शनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, प्रदेश सांसद हेमा बेल्वासे, दुर्गाप्रसाद चौधरी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।

गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा संचालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गरिएको थियो । शुक्रबार बिहान ११ बजे भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्‍याली मिलन चोक, दूरसञ्चार चोक, नारायण स्थान, बर्मेलीटोल हुँदै बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने वक्ताले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन र नियमित अन्तर्राष्ट्रिय उडान हुनु पर्ने माग गरेका थिए । यसका लागि सरकारले पहल गर्नु पर्ने भनाइ उनीहरुको थियो ।

माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।

‘एक महिनाअघिदेखि आन्दोलन घोषणा गरेर प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायत सरोकारवाला निकायमा ज्ञापनपत्र पनि बुझायौं तर माग सम्बोधन गर्नेतर्फ कुनै पहल र सरोकार राखेको पाइएन,’ ज्ञवालीले भने, ‘माग पूरा गराउनका लागि सडकमा उत्रिनुको विकल्प भएन ।’

माग सम्बोधन नभए उद्योगी/व्यवसायी, विभिन्न संघ–संस्थाले विमानस्थलमा धर्ना दिने र आन्तरिक उडान ठप्प पार्नेसम्मका आन्दोलन घोषणा गरिएको छ । प्रचारप्रसार संयोजक मधु पन्थीले सञ्जालको चरणबद्ध आन्दोलनअर्न्तगत यही मंसिर २४ गते विमानस्थलमा धर्ना कार्यक्रम रहेको बताए ।

प्रकाशित : मंसिर २२, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?