१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

सीमा स्तम्भहरु मर्मत सुरु

रुपा गहतराज

नेपालगन्ज — बाँकेको सीमा स्तम्भको मर्मत सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१६ जयसपुरस्थित ६ सय ५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन गरी बुधबारबाट काम शुभारम्भ गरिएको हो ।

सीमा स्तम्भहरु मर्मत सुरु

जिल्लामा रहेका कुल ३ सय ११ वटा सीमा स्तम्भहरुमध्ये जोर नम्बरका स्तम्भहरूको मित्रराष्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी) द्वारा मर्मत सम्भार कार्य सम्पन्न गरिरसकेको र बिजोर संख्यामा रहेका सीमा स्तम्भहरु नेपाल सरकारबाट गर्नुपर्ने भएकोले सोहीअन्तर्गत ४ वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ स्तम्भहरुको मर्मत कार्य गरिनेछ । लुम्बिनी प्रदेशको ४ सय ३५ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार सीमा स्तम्भ देशको संवेदनशील विषय भएकाले सरोकारवाला सबैको सहभागिता र समन्वयमा मर्मत गरिने बताए ।

कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सीमा क्षेत्रमा हुने विभिन्न अपराध नियन्त्रण, अवैध निकासी पैठारीलगायत सीमा स्तम्भको सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले प्रभावकारी भूमिका खेल्दै आइरहेको बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, ४२ बटालीएन एसएसबी भारतका प्रतिनिधि डेपुटी कमान्डेन्ट अनिल यादव, नापी विभागका प्रतिनिधि पवनकुमार खत्री, स्थानीय तहका वडाध्यक्षलगायतत सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।

प्रकाशित : मंसिर २०, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?