१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

अब शेरबहादुर दाइले नेतृत्व सुम्पिनुपर्छ : सांसद भण्डारी 

'स्थानीय तह सबैभन्दा धेरै जितेको छ, प्रदेश सरकारहरू बनाएका छौं । अझपनि हामी किन कमजोर कांग्रेस भंग हुँदा बलियो हन्छ ?'
अमृता अनमोल

बुटवल — कांग्रेस सांसद चन्द्र भण्डारीले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन शेरबहादुर देउवाले पार्टी नेतृत्व छोड्नुपर्ने बताएका छन् । विधानतः २ पटक सभापति हुन नपाउने भएकाले पनि अब देउवा पछाडि हटेर कांग्रेस अगाडि बढाउन उनले सुझाब दिए ।

अब शेरबहादुर दाइले नेतृत्व सुम्पिनुपर्छ : सांसद भण्डारी 

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा सांसद भण्डारीले शेखर कोइरालालाई नेतृत्वमा अगाडि सार्नुपर्ने तर्क गरे । 'शेरबहादुर दाइ अब अन्तिम हो, उहाँले अब यो मुलुक बनाइदिनुपर्छ,' डा. शेखर कोइरालातर्फ इंगित गर्दै उनले भने, 'भोलि पार्टी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरूलाई साथ लिएर बढ्ने डाक्टर साब हो, बेष्ट सर्जन पनि हो, थेरापिस्ट पनि हो । अब उहाँ अगाडि लागेर देश बनाउनुपर्छ ।'

भण्डारीले पार्टी सभापति देउवालाई पार्टीभित्र गुट चलाउँदा कमजोर बनेको भन्दै गुट नचलाउन सुझाव दिएका थिए । 'शेरबहादुरजी अब पार्टी सभापति विधानतः दिने होइन । अब राम्रो काम गरेर पार्टी चलाउँछु भन्ने कि मनलागी गर्ने ? तपाईले राम्रो गरेर देखाउनुस्,' उनले भने ।

नेतृत्वमा बसेर गुट चलाउँदा तीन तहमै सबैभन्दा बढी मत ल्याएर पनि कांग्रेस कमजोर भएको नेता भण्डारीको तर्क थियो । 'स्थानीय तह सबैभन्दा धेरै जितेको छ, प्रदेश सरकारहरू बनाएका छौं । अझपनि हामी किन कमजोर कांग्रेस ? भंग हुँदा बलियो हन्छ ?,' उनले भने । साँच्चै कांग्रेस कमजोर भएको हो भने हामीले गुट चलायौं भनेर स्वीकार्नु र सच्चाउनुपर्ने बताए । 'यतिधेरै जितेर कि हामीले सही टिकट बाँडेनौँ ठीक मान्छे गएनन्, गुट हेर्‍यौं भनेर स्वीकारौं । हामीले गुट हेर्‍यौं, उपगुट हेर्‍यौं, यो भन्न पाइन्छ । यसलाई सच्चाउन सकिन्छ तर पार्टी कमजोर भयो भन्न पाइन्न,' उनको भनाइ थियो ।

पार्टीमा गुट बनाउँदा कांग्रेसले नेतृत्व गरेका सरकारसँगै पार्टीपंक्ति कमजोर भएको भण्डारीको भनाइ थियो । नेतृत्वमा गएका व्यक्तिले राम्रो काम गरेर देखाउन नसक्दा निराशा र असन्तुष्टि बढेको उनले बताए । काम नगर्ने तर नेतृत्वमा जानेले कुरा मात्र गरेर असन्तुष्टि खोख्दै हिँड्दा समस्या बढेको उनको भनाइ थियो ।

अहिले धर्म, राजतन्त्र, संघीयता र गणतन्त्रका बारे प्रश्न उठेको बताउँदै भण्डारीले त्यसको जवाफ राम्रो काम गरेर देखाउनुपर्ने बताए । जनताले अहिले विकास र सुशासन खोजिरहेको उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १६, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?