कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

शल्यक्रिया गरिएकी सुत्केरीको अस्पतालमा मृत्यु भएपछि आम्दा अस्पतालमा तनाव

घनश्याम गौतम

बुटवल — सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा तनाव भएको छ । सोमबार सुत्केरी हुन भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका २ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटीको मंगलबार बिहान १० बजे मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रिया मार्फत ५ किलोको बच्चा जन्माएकी छन् ।

शल्यक्रिया गरिएकी सुत्केरीको अस्पतालमा मृत्यु भएपछि आम्दा अस्पतालमा तनाव

उनको सोमबार नै शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । बच्चा सकुशल छन् । मंगलबार बिहान सुत्केरी महिला बेडबाट जुरुक्क उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको अस्पतालले दाबी गरेको छ । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्रप्रसाद बस्याल माथि मंगलबार राति १२ बजेट कुटपिट गरेका छन् । कुटपिटबाट टाउको र पेटमा चोट लागेका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ । मेसु बस्यालको टाउको दुखिरहेकोले सिटी स्क्यान गर्ने तयारी भइरहेको लुम्बिनी चिकित्सक संघका सचिव एवं आम्दा अस्पतालका डाक्टर सन्तोष पोखरेलले बताए ।

सुत्केरीको मृत्यु भएपछि अस्पताल प्रशासनले मृत्युको कारणबारेमा जानकारी गराएको थियो । अस्पतालका डाक्टर पोखरेलका अनुसार गर्भवती महिलाको पेटमा ५ किलोको बच्चा रहेको र ठूलो बच्चा भएको अवस्थामा गर्भवती महिलाको पाठेघर धेरै खुलेको हुने र शल्यक्रिया गरेर बच्चा निकालेपछि त्यो पाठेघर खुम्चिन समय लाग्छ ।

तर, सुत्केरी महिला मंगलबार बिहान बेडमा सुतिरहेको अवस्थामा जुरुक्क उठेपछि पाठेघरमा एक्कासी समस्या आउने जोखिम थियो । ‘त्यसैलाई पल्मनरी इम्बोलिजम भनिन्छ,’ उनले भने, ‘पाठेघर राम्रोसँग खुम्चिन नपाउँदै त्यसमा भार पर्ने गरी जुरुक्क उठ्दा धेरै सुत्केरी महिलामा त्यस्तो समस्या हुनसक्छ ।’ डाक्टर पोखरेलले अस्पतालको प्रशासनको तर्फबाट कुनै लापरवाही नभएको र डाक्टर, नर्सिङ स्टाफहरु सुत्केरी महिला रहेकै स्थानमा निगरानी गरिरहेको अवस्थामै महिला बेहोस भएको र लगत्तै मृत्यु भएको बताए ।

विरामीका आफन्त राजु भुजेलले शल्यक्रिया गरेको भोलिपल्ट नै सुत्केरी महिलालाई उठेर हिंड्न लगाएको र त्यही क्रममा उठ्ने क्रममा सुत्केरी बेहोस भएको बताए । त्यसमा अस्पताल र डाक्टरहरुले निगरानी नगरेको उनको आरोप छ । सुत्केरीको मृत्यु भएपछि आक्रोसित आफन्तले शव बुझेर लैजाने तयारी भइरहेकै बेला आएको आफन्तहरुको अर्को समूहले अस्पताल प्रशासनसँग वार्ता गर्ने भनेको र त्यही वार्ताको क्रमममा मेसुमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

‘वार्ता भइरहेकै स्थानमा प्रहरी पनि रहेको र त्यही क्रममा बिरामीका आफन्तहरुले कुर्ची प्रहार गरेर मेसुलाई आक्रमण गरेको देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धान गर्दै छौं ।’ आक्रमणमा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरिएको उनले बताए ।

मेसु माथि भएको कुटपिटको विरोधमा अस्पतालमा सेवा ठप्प भएको छ । मृतक सुत्केरीको शव अस्पताल परिसरको शव वाहनमा राखिएको छ । आफन्तले शव बुझेर शव वाहनमा राखिसकेको अवस्थामा आफन्तको अर्को उत्तेजक समूह अस्पतालमा प्रवेश गरेर अवरोध सुरु गरेका थिए । उनीहरुको नाराबाजी र अवरोधपछि अस्पताल प्रशासनले छानविन गर्न तयार रहेको जानकारी गराएको थियो ।

तर, उत्तेजक समूहले लगातार हुलहुज्जत गरेपछि मांगलबार दिउँसोदेखि नै प्रहरी तैनाथ गरेर अस्पताललाई सुरक्षा प्रदान गरिएको थियो । प्रशासन र सुत्केरीका आफन्तबिच वार्ता गरेर समस्या समाधान गर्ने भन्दै वार्ताका लागि बसेकै बेलामा अस्पतालका मेसुमाथि आक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।

लुम्बिनी चिकित्सक संघका सचिव डाक्टर पोखरेलले मेसु माथि नै सांघातिक आक्रमण हुनु दुर्भाग्य भएको भन्दै चिकित्सक माथी आक्रमण गर्नेविरुद्ध कारवाही नभएसम्म चिकित्सक उपचारमा नफर्कने बताए । अस्पतालमा मंगलबार रातिदेखि नै नयाँ विरामीको भर्ना बन्द गरिएको छ । भर्ना भएर उपचार गराइरहेका विरामीको सेवा भने नरोकिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?