लुम्बिनी धार्मिक सहिष्णुता बोकेको प्रदेश हो : मन्त्री पाण्डे

(तिलोत्तमा) — लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेयले लुम्बिनी प्रदेश धार्मिक एवं पर्यटकिय हिसाबले भरिपूर्ण भएको बताएका छन् । उनले प्रदेशमा रहेका विभिन्न धार्मिकस्थल, धार्मिक आस्था र सहिष्णुताले प्रदेशलाई चिनाएको बताएका हुन् ।

उनले यहाँका पर्यटकीयस्थललाई व्यवस्थित गर्दै ‘टुरिजम सर्किट’ निर्माण गर्न सकिने भएकाले त्यसतर्फ सरकारले ध्यान दिरहेको दाबी गरे ।
श्री छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले श्री कालीभक्ति गण (ई) मा आइतबार आयोजना गरिएको छठ पूजा समारोहमा बोल्दै उनले युरोप, अमेरिका जस्ता देशमा आर्थिक सम्पन्नता भए पनि ती देशका व्यक्ति शान्तिको खोजीमा भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउने गरेकाले हरेक धार्मिकस्थलको संरक्षण र प्रवर्द्धन जरुरी रहेको बताए । उनले जीवनमा कुनै पनि लक्ष्य प्राप्तिका लागि धर्मलाई साक्षी राखे सफलता हात पार्न सकिने दाबी गरे । मन्त्री पाण्डेयले भने, ‘छठ पर्वमा सूर्यको पुजा गर्छौं, जसले गर्दा उर्जा प्राप्त हुन्छ ।'
उनले छठ पोखरीको सुन्दरीकरणका लागि पर्यटन मन्त्रालय मार्फत रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । छठ पर्व लगायत सबै धर्मका पर्व को माध्यमले नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने उनले विश्वास व्यक्त गरे । संघिय सरकारले आइतबार छठ पर्वको दिन विदा दिए पनि लुम्बिनी प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु, नवलपरासी र बाँके गरी चारवटा जिल्लामा सोमबार पनि विदा दिएको उनले बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले पछिल्लो समय छठ पर्व मान्नेको संख्या बढ्दै गएको बताए ।