सुनवलमा मंसिर २१ देखि औद्योगिक व्यापार मेला

परासी — पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि औद्योगिक व्यापार मेला हुने भएको छ । मेलामा लघु तथा घरेलु उत्पादनलाई निःशुल्क प्रदर्शनी गर्न स्टल उपलब्ध हुनेछ ।

महोत्सवको मुख्य उद्देश्य नै स्थानीय परिकार, उत्पादन र सिपको विकास गर्ने भएकाले लघु तथा घरेलु उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराईने सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
पुस ४ गतेसम्म सोमनाथ बजार परिसरमा हुने मेलामा २ सय स्टल रहने छन् । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । १४ दिनसम्म चल्ने मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन र खेल क्षेत्र रहने छ । जेष्ठ नागरिकलाई मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित : मंसिर ३, २०८० १३:५६