भैरहवाको दिपावली रौनक फर्काउन लागिपरेका रईस खान

भैरहवा — साढे दुई दशक अघिसम्म दिपावलीको बेलामा भैरहवा निकै आकर्षक सहरमा गणना हुन्थ्यो । देवकोटा चोकदेखि बैंकरोड, मिलन चोक प्रहरी टोल हुँदै नारायणस्थानसम्म सडकको दुवै किनारामा गरिने सजावटले सहर निकै मनमोहक बन्ने गर्थ्यो। आन्तरिक र बाह्य पर्यटक भैरहवाको दिपावली हेर्नका लागि झुम्मिन्थे ।

माओवादी युद्ध र भूमिगत मधेशवादी विभिन्न संगठन सक्रिय हुँदै गएपछि त्यतिबेलाको दिपावलीको चमक र रौनक भैरहवाले गुमाउँदै जान थाल्यो । सामूहिक रुपमा गरिने दिपावलीको सजावट र लक्ष्मी पूजा घरभित्र सिमित हुन थाल्यो । तिहारको अवसरमा गरिने विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रममा पनि कमि आउन थाल्यो ।
उतिबेलाको भैरहवाको दिपावलीको रौनकलाई बाल्यकालको कलिलो स्मृतिमा कैद गरेका एक युवा भने गुम्दै जान थालेको भैरहवाको त्यो साखलाई फर्काउन केही वर्षदेखि निरन्तर लागिरहेका छन् । दिपावलीलाई उल्लासमय बनाउन वर्षेनी हजारौं रुपैयाँ व्यक्तिगत रुपमा खर्चिने गरेका छन् ।
भैरहवाको मिलनचोकस्थित युनिक साउण्डका सञ्चालक ३५ वर्षिय रईस खानले विगत आठ वर्षदेखि वर्षेनी ६–७ लाख रुपैयाँ व्यक्तिगत रुपमा जुटाएर दिपावलीमा भैरहवालाई आकर्षण दिन लागिपरेका हुन् । ‘विगतमा दिपावली भन्नासाथ भैरहवाको नाम आउँथ्यो । दिपावलीको सजावट र लक्ष्मीपूजा हेर्न भारतीय र अन्य विदेशी पर्यटकसमेत आउँथे’ खानले भने, ‘दिपावलीको त्यो रौनकता हराउँदै जान थालेपछि त्यसलाई कायम राख्न यो एकल प्रयासमा लागेको छु ।’
दिपावली सुरु हुनु अगावै उनी आफ्नो योजनामा जुट्छन् । लाखौं रुपैयाको झल्लर र लाइट जोडेर मिलन चोकलाई झिलीमिली बनाउँछन् । आवागमन अवरुद्ध नहुने गरी सडकमैं स्टेज तयार पारेर लक्ष्मीपूजाको साँझ खुल्ला सांगीतिक कार्यक्रम आयोजना गरि स्थानीय र राष्ट्रिय कलाकारको साथमा सबैलाई भरपुर मनोरञ्जन दिलाउँछन् ।
उनका अनुसार सडकमा झिलीमिली पार्न झल्लर र विभिन्न खालको लाइट जडानमा ३ लाख जति खर्च हुने गर्छ । स्टेज तयार पार्न, स्थानीय र राष्ट्रिय कलाकारलाई हुने खर्च र अन्य कामका लागि साढे ३ देखि ४ लाख रुपैयाँ हुने गर्छ । यो खर्च जुटाउन न उनले अहिलेसम्म कतैबाट स्पोन्सर जुटाएका छन् । नत कसैसँग चन्दा तथा सहयोग नै मागेका छन् ।
यसपटक पनि खानले मिलनचोक आसपासको सडक क्षेत्रलाई पाँच–छ दिन अघिदेखि नै झिलीमिली पारेर सजाएका छन् । ‘यस्ता सांगीतिक कार्यक्रम आयोजना गरेर स्थानीय कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनु पनि मेरो यो लगानी र कार्यक्रमको उद्देश्य हो’ आज साँझ आयोजना गरिएको सांगीतिक कार्यक्रमका लागि स्टेजको सजावट र तैयारीमा जुटेका खानले भने ।
प्रकाशित : कार्तिक २६, २०८० १५:१६