खजुरा पुल अलपत्र‚ ठेकेदार खोजिदिन नगरपालिकाले गुहार्यो प्रशासन


परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको पुल भनिएको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार समपर्कमा नआएको नगरपालिकाले जनाएको छ ।


श्री मृत सञ्जीवनी निर्माण सेवा प्रालि कलंकी काठमाडौंले ठेक्का पाएको यो योजना २०७७ साल पौसाबाट निर्माण सुरु भएर २०८० साल असारमा सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म काम सुरु भएको छैन ।
लामो समयदेखि ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा नआउने र काम पनि अगाडि नबढेपछि ठेकेदारलाई सम्पर्कमा ल्याउन प्रशासनलाई आग्रह गरिएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए । पटक–पटक नगरपालिकाले सम्पर्क गर्न खोज्दा ठेकेदार सम्पर्कमा नआएको र काम पनी रोकिएको कारण छलफलका लागि प्रशासनमा आग्रह गरेको श्रेष्ठले बताए ।
नगरपालिकाले पत्र काटेर ठेकेदार सम्पर्कमा ल्याएर सहजीकरण गर्दिन अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार र सम्बन्धित व्यक्तिहरूलाई असोज १० गते कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
श्री मृत सञ्जीवनी निर्माण सेवा प्रालि कलंकी काठमाडौंले २०८० असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ पुस २८ गते सम्झौता गरेको थियो । कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो ।
प्रकाशित : आश्विन १, २०८० ११:४४