कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पाल्पामा साढे ६ सय बोरा अवैध रासायनिक मल प्रहरीको नियन्त्रणमा 

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुरमा भण्डारण गरेर राखेको ६ सय ५० बोराभन्दा धेरै भारतीय कम्पनीको अवैध रासायनिक मल प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि शनिबार बिहान ३ सय ७२ बोरा रासायनिक मल रम्भा गाउँपालिका–१, हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो ।

पाल्पामा साढे ६ सय बोरा अवैध रासायनिक मल प्रहरीको नियन्त्रणमा 

कालीगण्डकी करिडोरअन्तर्गत हुँगीबाट रामपुर लाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुनः रामपुर नगरपालिका–५, बेझाडमा भण्डारण गरेर राखिएको अवस्थामा मल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

उक्त सटर रामपुरका व्यापारी किर्तिनाथ श्रेष्ठले भैरहवाका व्यापारीलाई खोजीदिएको स्रोतले जनाएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले अनुगमन गर्ने क्रममा ६ सय ५० बोराभन्दा बढी अवैध युरिया मल फेला पारेको हो । गोदामका मालिक को हुन् भन्ने खुलेको छैन ।

केही दिनअघिदेखि रामपुर–५, बेझाडका गणेश मानन्धरको घरमा सटर भाडामा सटर लिएर मल भण्डारण गरेको भेटिएको हो । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल भेटिएको रामपुर नगरपालिकाले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको बताए । मल भण्डारण कसले गरेको भन्ने अनुसन्धान भइरहेको उनले बताए । जनप्रतिनिधि तथा सरोकारवालाहरुको रोहवरमा मल भण्डारण गरेको कोठालाई सिल गरिएको छ ।

मल अनुसन्धानका लागि सिल गरी राखिएको प्रहरी प्रमुख हेरम्ब शर्माले बताए । ट्रकसहित नियन्त्रणमा लिएको मल अनुसन्धानका लागि भन्सार कार्यालय पठाइएको छ । रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको छ । ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको थियो । तर बिलमा क्रेता र पान नम्बर फरक-फरक व्यक्तिको रहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?