सवारी दुर्घटना बढेपछि पाल्पामा ट्राफिक सचेतना बढाइयो

आँखा परीक्षण, स्वास्थ्य जाँच र यान्त्रिक परीक्षण
माधव अर्याल

पाल्पा — पछिल्लो दुई सातायता सवारी साधन दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतना अभियानलाई तीव्रता दिएको छ । उसले सवारी चालकको स्वास्थ्य जाँच, आँखा परीक्षणका साथै यान्त्रिक परीक्षण अभियान थालेको हो ।

सवारी दुर्घटना बढेपछि पाल्पामा ट्राफिक सचेतना बढाइयो

कतिय दुर्घटना चालकको लापरबाहीले भएका र पुराना सवारी साधनका कारण अधिकांश दुर्घटना भएको आरोप लागेको छ । त्यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले श्रीनगर यातायात सेवा कम्पनी प्रालिसँगको सहकार्यमा सवारी साधन परीक्षण गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताए । ‘चालक, सहचालक अस्वस्थ हुनु र सवारी साधनका यान्त्रिकीकरणको अवस्था समेत ठिक नहुनुले दुर्घटना निम्तिने गरेको छ,’ उनले भने, ‘त्यसैले त्यस्ता समस्या समाधानका लागि स्वास्थ्य परीक्षण र सवारी साधन जाँच गरेको हो ।’

लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ७० जना चालक, सहचालकको आँखा जाँच र स्वास्थ्य परीक्षणका साथै ४१ वटा सवारी साधनको यान्त्रिकीकरण परीक्षण गरिएको छ । यातायात सेवा व्यवस्था कार्यालयका अनुसार १५ वटा यान्त्रिकीकरण जाँच गरेर पुनः कार्यालयमा आउन आग्रह गरेको छ ।


पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनको जाँच गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोष रेग्मीले बताए । सवारी साधनको यान्त्रिकीकरण परीक्षणका साथै चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । सवारी चालक र सहचालकमा उच्च रक्तचाप, आँखामा कमजोरी देखिएको छ । सवारी सधान पुराना, यान्त्रिकीकरण बिग्रिएको भेटिएको छ । तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले दुर्घटना गराउनमा चालक, सहचालक र सवारी साधानको अवस्था राम्रो हुनुपर्ने बताए । ‘दुर्घटनाको कारण पहिचान गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘यस्तो कार्यले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह खेल्नेछ ।’

साँघुरा सडक, खाल्डाखुल्डी, सडक अवस्था राम्रो नहुनु, सवारी साधनको संख्यामा वृद्धि भएको सडक दुर्घटनाको जोखिम पनि बढेको छ । यातायात सेवा कम्पनीले पनि दुर्घटना कमी गराउनका लागि विभिन्न क्षेत्रमा पहल गर्दै आएको श्रीनगर यातायात सेवा कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमले बताए । सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्य रूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउन ट्राफिक प्रहरीले सचेत गराउँदै आएको छ । यसैसाता पाल्पाको रैनादेवी छहरा–८, सत्यवती केवरेछेडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । यसैगरी रानीमहल जाने सडकमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०८० ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?