पाल्पामा ३ महिना नदीजन्य पदार्थ निकासीमा रोक


पाल्पा — असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाएको हो ।


वर्षाको समयमा विपद्का घटना बढाउने कार्य रोक्न यस्तो निर्णय गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए । तीन महिना ठेक्का लागेका नदीजन्य पदार्थको समेत उत्खनन गर्न नपाइने उनले बताए ।
कसैले निकासी गरेमा कानुन अनुसार कारबाही हुनेछ । उत्खनन रोक्न जिल्लाभरका सुरक्षाकर्मीलाई निर्देशन दिइने छ । विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद् सम्बन्धी प्रतिकार्य योजना २०८० स्वीकृत गरेको उनले बताए ।
जिल्लामा हुने विपद् सम्बन्धी घटना न्यूनीकरण गर्न बनेको प्रतिकार्य योजना कार्यान्वयन गरेर अघि बढ्नेछ । वर्षाको समयमा हुन सक्ने बाढी, पहिरो जस्ता घटनालाई न्युनीकरण गर्न आवश्यक तयारी थालिने प्रमुख प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन् ।
बाढी, पहिरोका कारण हुन सक्ने राजमार्ग अवरुद्ध, टेलिफोन, विद्युत् अबरोध तत्काल हटाउन आवश्यक तयारी गरिने उनले बताइन् । सिद्धार्थ राजमार्ग अवरुद्ध हुन नदिने, यसअघि पहिरो गइ जोखिमयुक्त स्थानको पहिचान गरेर आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रशासनले जनाएको छ । विपद्का घटनालाई कम गर्न स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, सरोकारवाला निकायले आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
प्रकाशित : जेष्ठ २६, २०८० ०७:२४