नेपालगन्जमा महिला अधिकारकर्मीको भेला


नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला अधिकारकर्मीको भेला भएको छ । संकल्प नामक गैरसरकारी संस्थाले बिहीबार भेला आयोजना गरेको हो ।

भेलामा सहभागी महिला अधिकारकर्मीले पितृसत्ताले निर्माण गरिदिएको संरचना भत्काएर स्वतन्त्रता, आत्मनिर्भरता र स्वाभिमानसहित बाँच्न चाहने महिलाको विद्रोहले नै समतामूलक समाज निर्माण हुने भएकोले नारीवाद आजको आवश्यकता रहेकोमा जोड दिए । उनीहरुले व्यक्तिमात्र सशक्त भएर समाज परिवर्तन गर्न नसकिने बताए । महिला हक, अधिकारलाई स्थापित गराउन आ-आफनो ठाउँबाट लाग्नुपर्नेमा सहभागीको जोड थियो ।
नारीवाद अन्तरपिढी, अन्तरसम्बन्ध महिला नेतृत्व र लैंगिक मूलप्रवाहीकरणका बारेमा कैलाश राईले सहजीकरण गरेकी थिइन् । उनले छलफलमा महिला अधिकारको अवस्था, महिला अधिकार स्थापित गर्न गर्नुपरेका संघर्षलगायत विषयमा उठेका सवाल र उपलब्धिका बारेमा बताएकी थिइन् ।
यस्तै कार्यक्रममा लैंगिकता, मिडिया र सञ्चारका बारेमा अधिकारकर्मी अमिका राजथलाले महिलाहरुलाई आफ्ना समस्या अनि मुद्दा मिडियासम्म कसरी पुर्याउने र महिलाका मुद्दाहरुलाई कसरी मिडियामा स्थापित गराउने भन्ने बारेमा सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा आठ वटा जिल्लाको ५० जनाभन्दा बढीको सहभागिता थियो ।
प्रकाशित : जेष्ठ २५, २०८० १९:००