१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तिलोत्तमामा ट्राम रेल सञ्चालन योजना पुन: अघि बढ्यो

अमृता अनमोल

बुटवल — सडक क्षेत्र विवादमा रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन गर्ने योजना पुन: सुरु भएको छ । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकले रेल सञ्चालनका लागि सडक विस्तार गर्न कुनै विवाद नगर्ने र सहज रूपमा रुट दिने प्रतिबद्धता जनाएपछि काम सुरु गर्न लागेको नगरप्रमुख रामकृष्ण खाणले बताए । 

तिलोत्तमामा ट्राम रेल सञ्चालन योजना पुन: अघि बढ्यो

तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार ट्राम रेल सञ्चालन योजना अगाडि बढेको थियो। रेल योजनाको गत पुसमा शिलान्यास गरेर केही सडक खनिए पनि स्थानीयहरूको अवरोधका कारण काम रोकिएको थियो । रोकिएको काम अगाडि बढाउन मंगलबार राजनीतिकदलहरूसहितको प्रतिबद्धता आएकाले अब स्थानीयसँग समन्वय गरेर तत्काल काम अगाडि बढाउने नगरप्रमुख खाणले बताए ।

नगर प्रमुख खाणका अनुसार स्थानीयहरूले ठूलो रेलजस्तो आवाज आउने होहल्ला हुने हो कि भन्ने सोचका कारण काममा अवरोध गरेका हुन्। 'विद्युतीय प्रणालीमा रेल चल्ने भएकाले आवाज आउँदैन । आवाज नआएपछि स्थानीयलाई ध्वनि प्रदूषण हुँदैन । यो वातावरणमैत्री पनि छ । धुवाँ धुलो पनि निस्कँदैन,' नगरप्रमुख खाणले भने । नगरपालिकाले स्थानीय बासिन्दालाई यसबारेमा बुझाउने पनि उनको भनाइ छ ।

रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् । कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी जुटाइने छ ।

तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ। त्यसमा ५ फिटको ट्रयाक हुनेछ । १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई/तीन फिट छोडिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए ।

लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर बनाएको कम्पनीले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर रेल सञ्चालन लक्ष्य लिएको प्रबन्ध सञ्चालक शर्माले बताए । 'विद्युतबाट चल्ने एउटा रेलमा ५ वटा डिब्बा हुने छन् । यो सिटी रेल हो, मेट्रोजस्तै स्टान्डर्ड गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गति केही कम हुने,’ उनले भने ।

नगरपालिकाले बनाएको योजनाअनुसार ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलाशयतर्फ चल्ने छन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी राजमार्गलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने शर्माले बताए ।

ट्राममा एक पटकमा २ हजार ५ सय जना चढ्न मिल्ने छ । रेलको सेवामा दैनिक ३० हजार गरी वर्षमा १ करोडले सेवा लिने तथा सामान ढुवानीलगायतको काम गर्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने कम्पनीका निर्देशक शर्माले जनाए । परियोजना सुरु भएपछि १ सय जना स्थायी कर्मचारीले रोजगार पाउने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?