डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट 

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले दुई वटा योजनाका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपूरक र विशेषतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो । 

डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट 

कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपूरक र विशेष योजनाका लागि ११ वटा योजना माग गरी पठाएको थियो । त्यसमा समपूरक योजनाका लागि ५ वटा र विशेषका लागि ६ वटा योजना माग गरी पठाएकोमा दुबैतर्फ एक–एक वटा योजना परेको हो ।

समपूरकतर्फ डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट विनियोजन भएको छ । यो योजनामा नगरपालिकाले ५० लाख थप्ने छ । यो योजना एक करोडको हुनेछ । समपूरकका लागि नगर कार्यपालिकाले प्राथमिकीकरण गरी १ नम्बरमा कोहलपुर रिङरोड निर्माण तथा स्तरोन्नतिका लागि ४ करोड, २ नम्बरमा डुडुवा रोहिनी खोला तटबन्धका लागि साढे एक करोड, ३ नम्बरमा सृजना दुग्ध डेरीदेखि बागेश्वरी क्याम्पससम्म ३३० मिटर पिच बाटोका लागि ५० लाख, ४ नम्बरमा गोहवा गाउँदेखि चौधरीया जोड्ने सडकका लागि १ करोड र ५ नम्बरमा वडा नम्बर ११ र ६ को सिमानादेखि बालविधासम्म पक्की नालीका लागि साढे एक करोड बजेट योजना माग गरी पठाएको थियो ।

त्यसमा संघीय सरकारले डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट विनियोजन गरेको हो । डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ का आधा दर्जन बस्ती डुबान र कटानको उच्च जोखिममा छन् । वडा नम्बर १२ को प्रगति नगर, जानकी टोल, ज्ञानज्योति स्कुल टोल, भाग्रा र वडा नम्बर १३ को सिम्री डुडुवा खोलाको उच्च जोखिममा छन् ।

यस्तै संघीय सरकारसंग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याव सञ्चालन तथा व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले छैठौं प्राथमिकतामा राखेर सिकलसेल ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरी पठाएको थियो । त्यसमा संघीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले विशेष योजनातर्फ वडा नम्बर ४ स्थित हिमालय मदरसा गरिव नवाज प्राथमिक विद्यालायको पर्खाल निर्माणका लागि ४ करोड, वडा नम्बर १४ स्थित राममाविको भवन निर्माणका लागि साढे एक करोड, वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि ५० लाख, वडा नम्बर २ स्थित दलित सांस्कृतिक संग्रहालय निर्माणका लागि ५० लाख र निकुञ्ज क्षेत्रमा जाली तारबारका लागि ५० लाख बजेट योजना माग गरी पठाएको थियो ।


प्रकाशित : जेष्ठ २३, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?