तीन दिनअघि जलजलाबाट हराएका खत्री अझै भेटिएनन्

काशीराम डाँगी

रोल्पा — रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलामा बराह पूजा गर्न जाँदा हराएका एक व्यक्ति तीन दिनसम्म पनि भेटिएका छैनन् । आइतबार बिहान ५ बजेबाट सम्पर्कविहीन भएका दाङ तुलसीपुर उपमहानगर–१८ का शेरबहादुर खत्रीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ६७ वर्षीय खत्री हराएपछि आफन्तले प्रहरीलाई खोजी गरिदिन निवेदन गरेका छन् । निवेदनपछि प्रहरीको सक्रियतामा स्थानीय र आफन्तले खोजी थालेका छन् । ‘तीन दिनम्म जंगल र जलजला क्षेत्रमा खोजी गर्दा पनि उनी भेटिएका छैनन् ।’

खोजीमा गएका त्रिवेणी गाउँपालिका–५ का आफन्त रामनाथ डाँगीले भने । आफन्तका अनुसार पूर्णिमाका दिन बिहान पूजा गर्ने तयारीमा जलजलास्थित बराह मन्दिर छेउबाट खत्री सम्पर्कविहीन भएका थिए ।

बिरामी भएकाले जलजलामै पुर्‍याएर पूजा गरेपछि निको हुने विश्वासले आफन्तले मन्दिरमै लिएका थिए । शेरबहादुरका कान्छा भाइ जितबहादुरका अनुसार सम्पर्कविहीन भएपछि जंगल, घर, गाउँ र मन्दिर आसपासमा पुगेर उनको खोजी जारी राखिएको छ । प्रहरी र थबाङी समेतलाई परिचालन गरेर खोजी गर्दा पनि नभेटिएको उनले बताए ।

लामो समयदेखि बिरामी भएकाले बराह पूजा गरेपछि सन्चो हुने विश्वाससाथ भाइ र छोरासँगै खत्री शनिबार जलजलामा पुगेका थिए । आफन्तका अनुसार लगभग ५ फिट २ इन्च अग्लो, गहुँ गोरो वर्णका खत्री बेपत्ता भएपछि प्रहरीले सबैतिर सूचना जारी गर्दै खोजी गरिदिन आग्रह गरेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । खत्री हराएको क्षेत्र जलजलासहित उवा, जेलबाङ, मिरुल र थबाङ क्षेत्रमा उनको खोजी गर्न प्रहरीसहित आफन्त र स्थानीय परिचालित भएका छन् ।

गाउँपालिकाहरु थबाङ, सुनछहरी र रोल्पा नगरपालिकाको सीमामा पर्ने जलजलामा तीन वटा बराह मन्दिर र एउटा गुफा छ । वर्षको तीन पटक वैशाख, जेठ र साउनको पूर्णिमाको दिनमा यहाँ बराह पूजा गर्ने चलन छ । जलजला रोल्पा सदरमुकाम लिबाङबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : जेष्ठ २३, २०८० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्