सिद्धार्थनगरका एमाले सचिवसहित ७४ जनाले दिए राजीनामा


तिलोत्तमा — नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।


राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यलगायत रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता/कार्यकर्ताहरुले झन्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेस गरिएको बताए । उनले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एक ढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारका लागि सुझावपत्र पेस गरिएको जानकारी दिए ।
‘इमानदार कार्यकर्ताले पार्टी सुधारको माग गर्दा पनि नदेखेझैं गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारबाही गर्छौं भन्दै हिँड्ने,’ उनले भने, ‘पार्टी संगठनात्मक र संस्थागत रुपले भन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसन्नेजस्तो गर्ने गरी आलटाल गरेकाले यो कदम चालेका हौं ।’
जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडी पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेता नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्तालाई सधै अन्यायमा पारिएकाले आजैकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको भण्डारीले बताए ।
राजीनामा पार्टी सिद्धार्थनगरका अध्यक्षलाई सम्बोधन गर्दै दिइएको हो ।
प्रकाशित : जेष्ठ २२, २०८० ११:१८