प्रेमीसँग मिलेर श्रीमान्को हत्या


परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।


स्थानीय २९ वर्षीय अब्दुल नसिम खाँको हत्या आरोपमा उनकी श्रीमती हशिवुन निशालाई प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिकसँग मिलेर बिहीबार मध्यराति श्रीमान्को हत्या गरेको रहस्य खुलेको हो । मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।
हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हत्या भएका व्यक्तिको श्रीमती हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ । उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । आफ्ना क्रियाकलापका बारेमा श्रीमान्ले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको प्रहरीले अनुसन्धानमा खुलेको छ । हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । तर अनुसन्धान गर्दै जाँदा आफैंले श्रीमान्को हत्या गरेर आफैंले प्रहरीको उजुरी दिन आएको तथ्य खुलेको हो ।
आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको हशिवुनले प्रहरी समक्ष बयान दिएकी छन् । हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
