३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कपिलवस्तु जिल्ला अस्पतालमै ३ महिनादेखि अत्यावश्यक औषधि अभाव

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१२, बिठूवाका चैतु यादव ज्वरोले थलिएर उपचारका लागि सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पतालमा आए । चिकित्सकले सिटामोलसहित एन्टिबायोटिक एमोक्सोसिलिन औषधि लेखिदिए । तर, उनले अस्पताल डिस्पेन्सरीमा कुनै औषधि पाउन सकेनन् ।

कपिलवस्तु जिल्ला अस्पतालमै ३ महिनादेखि अत्यावश्यक औषधि अभाव

‘गरिब भएर सरकारी अस्पतालमा औषधिका लागि आएँ,’ उनले भने‚ ‘नपाएपछि छिमेकीसँग पैसा सापटी गरेर किनेर खाएँ ।’ उनीजस्तै पखाला लागेर कपिलवस्तु नगरपालिका मलापाराकी अमिरुन निशा उपचारका लागि अस्पताल पुगिन् । उनले पनि जीवनजल पाउन सकिनन् । ‘सरकारले निःशुल्क औषधि उपलब्ध छ भन्छ,’ उनले भनिन्, ‘अस्पताल छैन भन्छ ।’ साँझ-बिहान ज्याला मजदुरी नगरे चुलौचौको बल्दैन । अब औषधि कसरी किन्ने ? तनाव र चिन्ताले रन्थिनिएको छु‚’ उनी थप्छिन् ।

सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने योजना अघि सारे पनि यहाँको अस्पतालमा आधारभूत औषधिकै अभाव भएको छ । ३ महिनादेखि सिटामोल अभाव हुँदा बिरामीले पाउन सकेका छैनन् ।

प्रदेशअन्तर्गत रहेको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवलबाट औषधि नआउँदा उपचारका लागि आउने बिरामी रित्तो हात फर्किन बाध्य छन् । कहिलेकाहीँ जिल्ला स्वास्थ्य कार्यालयले वितरण गर्दै आएको औषधि पनि दिन छाडेकाले अस्पतालमा औषधि अभाव बढेको छ ।

०७८ फागुन २ गते प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १८ हजार ट्याबलेट सिटामोल आएको थियो । ‘त्यसयता आएको छैन,’ अस्पतालमा स्टोर शाखा प्रमुख योगेन्द्र चौधरीले भने‚ ‘त्यसैले काम चलायौं ।’ ३ महिनायता चरम अभाव भएको छ । सिटामोल अहिले सय जना बिरामीमा झन्डै ३० प्रतिशतलाई दिनुपर्ने अवस्था छ ।

‘अहिले भाइरल ज्वरोका बिरामी बढेका छन् । सामान्य ज्वरो आएका, रुघाखोकी र कहिलेकाहीँ दुखाइमा पनि प्रयोग गरिन्छ । जीवनजल पनि एक सातायताबाट अभाव भएको छ । अस्पतालको डिस्पेन्सरीबाट वितरण बन्द भएको छ । इमजेन्सी कक्षमा उपचार गराउन आउनेलाई ५ सय ट्याबलेट सिटामोल र दुई सय थान जीवन जलमात्र मौज्दात छ‚’ उनले भने । गर्मीको महिना छ भएकाले झाडापखालाका बिरामी बढ्दै भन्दै उनले जीवन जल पनि बाहिर खरिद गर्न पठाउनु पर्दा दुःख लागिरहेको उनले बताए ।

औषधि सकिएको जानकारी दिएर पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवल र प्रदेश मन्त्रालयले चासो नदिएको अस्पताल व्यवस्थापक रत्नाकर शुक्लाले बताए । ‘हामी प्रदेश मन्त्रालय मातहत हौं,’ उनले भने, ‘तर, प्रदेश भन्छ अब स्थानीय तहसँग समन्वय गरेर लेऊ ।’ यता स्थानीय तह अस्पताल प्रदेश मातहत भएकाले उसैको जिम्मेवारी भएको भन्दै पन्छिने गरेको उनले बताए । ‘यसअघि प्रदेशबाटै औषधि आउने गरेको थियो । एकै पटक रोकिँदा अहिले निक्कै समस्या भइरहेको छ । गरिब विपन्न उपचारबाटै वञ्चित हुनुपर्ने अवस्थामा पुगेको छ‚’ उनले भने ।

अस्पतालमा ब्रुफेन, आईरन, एसिलक, बुस्कोपाम र एजिथ्रोमाइसिन औषधिको अभाव छ । त्यस्तै मेट्रो, फुल्कोनाजोल, भिटामिन ‘ए’ र नाभी मल्हमको अभाव छ । २ सय ५० र ५ सय एमजीको एमोक्सोसिलिन र सिफ्रोफलाक्सिन तथा २ सय र ४ सय एमजीको सिफेक्सिन एन्टिबायोटिक औषधिको पनि मौज्दात सकिएको छ ।

‘अस्पतालसँग औषधिका लागि बजेट छैन, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सहजाद मोहम्मद खाँले भने, ‘अहिले उपचारका लागि आउने बिरामीलाई गाह्रो भइरहेको छ ।’ यसले अस्पतालप्रति नकारात्मक सन्देश गइरहेकाले सबै मिलेर निकास दिनुपर्ने उनले बताए । अस्पतालमा दैनिक ३ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।

यसरी अस्पतालमा अत्यावश्यक औ‍षधिको पनि अभाव हुँदा जनआक्रोश बढ्दै गएर आन्दोलनको स्वरुप लिन थालेको नागरिक अगुवा गोपीकृष्ण शर्माले बताए । ‘धर्ना जुलुस नगरी माग सुनवाइ हुँदैन,’ उनले भने‚ ‘त्यसका लागि तयारी थालिएको छ ।’ संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको छ । तर, व्यवहारमा नहुँदा गरिब विपन्नले सास्ती झेल्नुपरेको छ । यसले बिरामी मारमा परेका छन् ।

जीवनयापन कष्टकर बनेको छ । कतिपयले ऋण गर्जो गर्नुपरेको छ भने रोग पालेर बस्नुपरेको छ । प्रदेश र स्थानीय तहले औषधि नदिँदा गरिब तथा विपन्नलाई समस्या थपिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?