२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पाल्पामा ‘महिनावारी’ मेला 

माधव अर्याल

पाल्पा — महिनावारीप्रतिको गलत धारणा हटाउन पाल्पाको तानसेनमा शनिबार महिनावारी मेला सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले मेला राखेको आयोजक क्लबका अध्यक्ष राजेश कोइरालाले बताए । 

पाल्पामा ‘महिनावारी’ मेला 

महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रमसमेत रहेकाले मेलामा यस विषयमा जानकारी दिइएको हो । रजस्वलासम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताए । मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिइएको थियो । पुनः प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत गराइएको आयोजक क्लबकी पब्लिक रिलेसन अफिसर स्नेहा बस्नेतले बताइन् । मेलामा राखिएका स्टलमा प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराइएको थियो ।

तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले मेला महिनावारीप्रतिको गलत धारणा हटाउन सहयोगी बनेको बताए । आगामी वर्षको बजेटमा यस्ता सचेतनामूलक कार्यक्रमका लागि बजेटले सम्बोधन गर्ने बताउँदै गाउँगाउँमा यस्तो कार्यक्रमको अझ बढी महत्त्व हुने उनले बताए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले परिवार नियोजन संघले विगतदेखि नै यस्ता विषयमा जानकारी गराउने गरेको र महिनावारी सम्बन्धी कुप्रचलन हटाउन चेतना जगाउन मेला प्रभावकारी भएको बताए । महिनावारीप्रति भएका भ्रम चिर्न मेला सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरेले बताए ।

महिनावारी मेलामा विद्यार्थी, युवक–युवती र आमा समूहबाट गरी ५ सय बढीको सहभागिता थियो । सहभागीलाई महिनावारीका बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको आयोजक क्लबकी सचिव सुदेसा रिमालले बताइन् । मेलामा राखिएका स्टलहरूमा त्यससँग सम्बन्धित विषयमा जानकारी दिइएको द रोटरी फाउन्डेसनकी अध्यक्ष सजना नेपालले बताइन् । महिनावारीका विषयमा थप जानकारीमूलक बनाउने रोमाञ्चक खेलहरू पनि खेलाइएकाले किशोर किशोरीको आकर्षण थियो । महिनावारी, गर्भावस्था र यसैसँग जोडिएका विकृति र पुरातनवादी विचारका विरुद्धमा जनचेतना फैलाउने प्रयास गरिएको रोट्र्याक्ट क्लब अफ पाल्पाकी कलावती दाहालले बताइन् ।

प्रकाशित : जेष्ठ १३, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?