२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
निर्वाचित जनप्रतिनिधिको एक वर्ष 

रैनादेवी छहराको प्राथमिकता शिक्षा र कृषि

माधव अर्याल

पाल्पा — संघीयतापछि स्थानीय तहको दोस्रो पटक निर्वाचन भएको एक वर्षको अवधिमा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि प्राथमिकता दिएको छ । उसले शिक्षासँगै कृषि, स्वास्थ्य, भौतिक पूर्वाधारलाई पनि जोड दिएको छ । 

रैनादेवी छहराको प्राथमिकता शिक्षा र कृषि

गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले एक वर्षको उपलब्धि सार्वजनिक गर्दै गाउँपालिकामा रहेका ६२ वटा विद्यालयका बालबालिकालाई संघीय सरकारले दिँदै आएको दिवा खाजामा पालिकाले ५ रुपैयाँ थप गरेको बताए । रैनादेवी छहराअन्तर्गतका विद्यालयका विद्यार्थीले दैनिक रुपमा २० रुपैयाँ बराबरको खाजा पाउने गरेका छन् । ‘हामी गाउँपालिकाभित्रका नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा छौं,’ उनले भने, ‘यसका लागि विभिन्न ढंगबाट कामहरु अघि बढेको छ ।’

संघीय सरकारले प्रदान गर्दै आएको बाल सहजकर्ताको मासिक १० हजारमा ५ हजार रुपैयाँ थप गरेर प्रदान गरेको छ । अध्यक्ष भट्टराईका अनुसार सामुदायिक सिकाइ केन्द्रका कर्मचारीलाई ८ हजारमा मासिक ७ हजार रुपैयाँ थप गरेर दिएको छ । विद्यालयका लेखा कर्मचारीलाई १३ हजार ५ सयमा मासिक ३ हजार ५ सय थप गरी तलब प्रदान गरेको उनले बताए ।

चालु आर्थिक वर्षमा कक्षा १ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । कक्षा १ देखि ३ सम्म पाठ्यक्रम लागू गरेको र कक्षा ४ र ५ मा लागू गर्ने क्रममा रहेको अध्यक्ष भट्टराईले बताए । पालिकास्तरमा विद्यालय शिक्षालाई एकरुपता कायम गर्न शैक्षिक क्यालेन्डर निर्माण गरी लागू गरेको छ । गुणस्तरीय शिक्षा प्रदानका लागि विषयगत शिक्षकहरूलाई नियमित रुपमा तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए ।

गाउँपालिका उपाध्यक्ष युवराज थापाले शिक्षासँगै कृषि तथा पशुपन्छी, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, वन तथा वातावरणलगायत क्षेत्रमा एक वर्षमा उल्लेख्य काम अघि बढेको बताए । गाउँपालिकाको तराई जोड्ने छोटो दुरीको सडकअन्तर्गत सुन्दरडढुंगा–जुठापौवा–सालझण्डी मोटरबाटो नेपाने खण्डसम्म कालोपत्रे भएको उनले बताए ।

मैदिया–छहरासडक खण्डमा ग्रावेल गरिएको छ । पेलावासदेखि बल्घा हुँदै अर्घाखाँची जोड्ने मोटरबाटो स्तरोन्नतिको काम भइरहेको छ । सिस्ने खोला र मझुवाघाट खोलामा झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ । रैनादेवी मन्दिर निर्माणको कार्य सुरु भएको छ । उपाध्यक्ष थापाका अनुसार सडक सरसफाइमा क्रियाशील लेन्थमेनलाई काममा उत्साहित बनाउन सिजनअनुसारको पोसाक वितरण गरेको छ । वडास्तरमा पुगी योजना सम्झौता भएको छ ।

वडा–वडामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दा १ हजार ३ सय ६५ जनाले सेवा पाएका छन् । भैरव नवदीप माविमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको छ । सबै स्वास्थ्यचौकीहरूमा अल्ट्रासाउन्ड व्यवस्थापन गरिएको छ । गाउँपालिकाको वडा नं. ३ र ८ मा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्दा सयौं महिलाले फाइदा पाएका छन् ।

पालिकाबाट निःशुल्क आँखा शिविर सञ्चालन गरी २० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिए । ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेको उनले बताए । स्वास्थ्यचौकीमा प्रशस्त मात्रामा औषधिको व्यवस्था गरेको उनले बताए ।

विपन्न, असहाय तथा दिर्घरोगीहरुलाई पालिकाबाट प्रत्येक व्यक्तिलाई नियमित रुपमा ५ हजार सहयोग गर्दै आएको लेखा अधिकृत लीलामणि बस्यालले बताए । पालिकाले ‘घ’ वर्गका अपांगहरूलाई मासिक २ सय ५० रुपैयाँ भत्ता प्रदान गर्दै आएको उनले बताए । सबै क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँसभाबाट संकल्प प्रस्ताव पारित गरेको छ ।

सिद्धेश्वरको तल्लो र माथिल्लो असारेमा लिफ्ट खानेपानी योजनामार्फत घर–घरमा खानेपानी वितरण गरेको छ । वडा नं. ३ को गोखुंगा, भिरवास, अर्दाइ क्षेत्रमा एक घर एक धारा वितरण गरी खानेपानी सुविधा प्रदान गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न दूधमा २ रुपैयाँ, तरकारीमा २ रुपैयाँ र मासुमा प्रतिकेजी २० रुपैयाँ अनुदान प्रदान गरिएको उनले बताए ।

शिक्षित युवाका लागि युवासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ । सोमादी, भुवनपोखरी, मुझुङ, छहरामा सुन्तला तथा कागती पकेट क्षेत्र सञ्चालन गरेको छ । पशु नश्ल सुधार पशुपक्षी डिस्पेनसरी सेवा वडाबाटै सञ्चालन भएको छ । रासायनिक मल वितरण गर्ने सहकारीहरूलाई चुस्तदुरुस्त बनाएको सूचना अधिकारी नारायण मल्लले बताए । कृषि उत्पादन वृद्धि गर्न अनुदान कार्यविधी बनाई वितरण गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?