डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

परासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल-नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी भोजराज पाण्डेले बताए । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्वतर्फ जाने सयौं सवारी साधन अलपत्र परेका छन् ।
वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने बताइएको छ ।
डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिम बाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित : जेष्ठ ११, २०८० १५:३३