कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु

माधव अर्याल

पाल्पा — निर्माण कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम अघि बढेको हो ।

सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ‘नर्थ पोर्टल’ तर्फ ‘रिब’ राखेर एंकरिङको काम गरिरहेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालका अनुसार सडक विभागका कर्मचारी र स्विस सरकारको परामर्शदाताबीच खण्ड–खण्डको डिजाइन स्वीकृत गरेर काम अघि बढाएको हो ।

उनका अनुसार सुरुङ सुरु हुने उत्तरतर्फको प्रवेशद्वारलाई एंकरिङ गरेर त्यसको माथि कंक्रिटको काम सुरु हुनेछ । केही दिनदेखि ठूला फलामका पाइपलाई जोडेर एंकरिङको काम भइरहेको आयोजना प्रमुख जयसवालले बताए । ‘अहिले भइरहेका प्रारम्भिक काम पार्ट–पार्टमा डिजाइन स्वीकृत भएअनुसार नै भएको हो,’ उनले भने, ‘उत्तरतर्फ सुरुङ खन्ने कामका लागि सडक विभाग र स्विस कन्सल्ट्यान्टबीचको छलफलमा स्वीकृत भइसकेको छ ।’ उनका अनुसार सिद्धबाबा मन्दिर (पाल्पातर्फ) नजिकै भने डाइभर्सनको काम र स्लोप कटिङमात्र भएको छ । ‘अहिले दक्षिणतर्फको भागमा डिजाइन स्वीकृत भइसकेको छैन,’ उनले भने, ‘पूर्वतयारी मात्र गरेको हो । स्लोप कटिङ र धर्मशालानजिक डाइभर्सनको काम मात्र हुनेछ । डीपीआर स्वीकृत हुनासाथ धमाधम काम हुन्छ ।’

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनमा स्विस सरकारको विकास सहयोगमार्फत डिजाइन स्वीकृतका लागि सडक विभागले समन्वय गरेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीले बताए । स्विस परामर्शदाता आईटीईसीओ–एएफले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गरेको थियो । सोहीअनुसार नेपाल सरकारले बजेट सुनिश्चित गरेर ठेक्का लगाएको थियो ।

अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले पाएको हो । स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढ्ने सडक विभागले जनाएको छ ।

सिद्धबाबा क्षेत्रको अध्ययन गर्दा फिल्डको काम नेपालको प्लानेट टेस्ट कम्पनीले सघाएको थियो । उसले भूभौतिक परीक्षणलगायत सुरुङमार्ग उपयुक्त हुन्छ/हुन्न भन्ने वास्तविकता पत्ता लगाउन फिल्डमै अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । पहाडभित्र कस्तो चट्टान छ भन्ने अध्ययनसमेत गरेको थियो । त्यसैको आधारमा डीपीआर तयार गरेर सरकारलाई बुझाएको हो । कम्पनीले सडकको वर्तमान अवस्थाका विषयमा अध्ययन गरेको थियो । कम्पनीले परियोजनाको ‘रोड वर्क’, हाइड्रोलिक, रकसेड र सुरुङका बारेमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो । लगानी, आयोजना सम्पन्न हुने मिति र लागतलगायतका विषयमा भने आईटीईसीओ–एएफले अध्ययन गरेको थियो ।

सिद्धबाबा सुरुङमार्ग साढे ५ वर्षभित्र बन्ने गरी ठेक्का लगाइएको छ । भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लागेको र ५८ करोड निर्माण व्यवसायीले पेश्की लगेको सिनियर डिभिजनल इन्जिनियर बराहीले बताए । ठेक्का लागेको ६६ महिनामा पूरा गर्नुपर्ने हुन्छ ।

पाल्पा, गुल्मीलगायत पहाडी र हिमाली भेगका बासिन्दा वर्षौंदेखि यस क्षेत्रमा असुरक्षित यात्रा गर्दै आएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुन २५ गते सम्झौता भएको हो । निर्माण कम्पनीले ९ महिनाभित्र डिजाइन रिपोर्ट बुझाउने र बाँकी चार वर्ष तीन महिनाभित्रमा निर्माण कार्य सक्ने सम्झौता भएको छ । ‘नौ महिनाभित्रमा डिजाइन रिपोर्ट पेस भइसकेको छ,’ उनले भने, ‘डिजाइन रिपोर्ट जाँच गरेर स्विस सरकारसँगको सहयोगमा सडक विभागबाट स्वीकृतिकै क्रममा छ ।’

निर्माण व्यवसायीले साइट क्याम्प तिनाउँ गाउँपालिका–२, दोभानमा तयार गरेको छ । आयोजना कार्यालय भने रुपन्देहीको नयाँगाउँमा राखिएको छ । बुटवल चिडियाखोलादेखि ड्यामसाइटसम्का बिजुलीका पोल सार्ने काम सकिएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकअन्तर्गत तिनाउँ गाउँपालिका–३ दोभान बजारदेखि तल्लो सिद्धबाबासम्मको चार किलोमिटर क्षेत्र जोखिमयुक्त छ । सुरुङ १ हजार १२६ मिटर मात्र बन्नेछ । उत्तरतर्फ रामापिथेकस पार्कबाट सुरु भएर दक्षिणतर्फ पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिक टुंगिन्छ ।

यस क्षेत्रमा वर्षायाममा ढुंगा खसेर सवारी साधन पुर्ने, धेरै दिन सडक अवरोध हुने समस्या छ । यात्रुहरू घण्टौं जोखिम क्षेत्रमै अलपत्र पर्नुपर्ने बाध्यता हुन्छन् । माथिल्लो भागबाट खस्ने ढुंगाले च्यापेर थुप्रै सवारी साधन पुरिएको छ । पछिल्लो १० वर्षमा ४ सय २१ यात्रुले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । यस क्षेत्रमा धेरै मानिस अंगभंग भएका छन् । सवारी साधनमा करोडौंको क्षति पुगिसकेको छ ।

सडक विभागका अनुसार चिडियाखोलादेखि माथिल्लो सिद्धबाबा मन्दिरसम्म सुरक्षित सडक निर्माणको काम हुनेछ । यस्तै रामापिथेकस पार्क (ड्यामसाइट) देखि थप ७ सयमिटर माथि दोभान क्षेत्रसम्म पनि प्रोटेक्सनका काम हुनेछन् । योजनाको कुल लम्बाइ भने झण्डै २७ सय मिटर हुनेछ । सुरुङमार्ग दुई लेनको हुनेछ ।

सिद्धबाबामा सुरुङ निर्माणका लागि २०७५ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लाका बासिन्दाको तराई र भारत जाने गर्छन् ।

प्रकाशित : जेष्ठ १०, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

वैशाखमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको वैशाखमा मात्रै १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागका अनुसार २८ वटा उद्योगमा उक्त विदेशी लगानीको प्रस्ताव स्विकृत भएको हो ।

चैत महिनामा ३३ वटा उद्याेगमा ७ अर्ब ५५ कराेड १८ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता प्राप्त भएकाे विभागकाे तथ्यांक छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म २१९ वटा उद्योगमा २९ अर्ब ७४ करोड १ लाख ४३ हजार रुपैयाँ लगानी प्रस्तावित भएको छ । साउनदेखि वैशाख मसान्तसम्म १२ हजार १७१ लाई रोजगारी दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १ अर्ब ६२ करोड १० लाख रुपैयाँ मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म स्वदेशी र विदेशी उद्याेगमा १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ । साउनदेखि वैशाखसम्म लगानी प्रस्तावित उद्योगमा १८ हजार ५२४ जनालाई रोजगारी दिइने अनुमान छ । विभागका अनुसार वैशाखमा ७ वटा डिजाइन र २५२ वटा ट्रेडमार्क दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ वटा पेटेन्ट, १८ वटा डिजाइन र २ हजार ४२७ वटा ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ १०, २०८० १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×