रानीमहल र श्रीनगरबाट ७४ लाख राजस्व संकलन 

तानसेन नगरपालिकाको एक वर्षको उपलब्धि सार्वजनिक
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाले श्रीनगरडाँडा पार्क र पर्यटकीयस्थल रानीमहल क्षेत्रबाट १० महिनामा ७४ लाख राजस्व संकलन गरेको छ । नगरपालिकाले गत साउनदेखि आफ्नै कर्मचारीहरू खटाएर प्रवेश शुल्क उठाउन सुरु गरेको हो । 

रानीमहल र श्रीनगरबाट ७४ लाख राजस्व संकलन 

व्यवस्थापन राम्रो गरेकाले वैशाख महिनाको मसान्तसम्ममा श्रीनगर क्षेत्रबाट मात्रै २७ लाख ७३ हजार राजस्व उठेको छ । अघिल्ला सरकारले १२ महिनामा १० लाख पनि राजस्व उठाएको थिएन । रानीमहल क्षेत्रबाट अहिलेसम्मकै धेरै ४७ लाख १३ हजार राजस्व उठेको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार ठेक्का प्रक्रियामा लगेको भए यति धेरै राजस्व उठ्ने थिएन ।

‘नगरपालिका अफैले कर्मचारी खटनपटन गरेर राजस्व संकलन गरेको छ,’ उनले भने, ‘यसबाट नगरपालिकालाई धेरै नै फाइदा भएको छ ।’ उता तानसेन नगरपालिका–१४, अर्गमीमा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको ४ हजार ७ सय ५२ ट्रयाक्टर घाटगद्दी गरेको थियो । घाट गद्दी गरेको नदीजन्य पदार्थलाई नियन्त्रणमा लिएर त्यस वापतको ४२ लाख ४६ हजार असुलउपर गरिएको नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाको १० महिनामा ४ करोड ९२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

तानसेन नगरपालिकाले एक वर्षको अवधिमा गरेका कामको २५ बुँदे मुख्य उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकामा शनिबार आयोजित पत्रकार भेटमा नवनिर्वाचित जनप्रतिनिधिबाट भएका काम सार्वजनिक गरेको हो । नगरपालिकाले पाल्पा दरबार परिसरका घरटहरा भत्काउने र हटाउने कार्य सम्पन्न गरेको छ । नगरप्रवक्ता यादवसिंह कार्कीले दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजना सहित ५७ वटा घरटहरा हटाइएको बताए । तानसेन नगरपालिकाले निर्माण गरेका १३ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका ३, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका ३ र वि.सं. १९९८ देखि वि.सं. २०३४ सम्ममा विभिन्न समयमा निर्माण गरेका २४ वटा घरटहरा हटाइएको उनले बताए ।

तानसेन नगरपालिकाभित्रका १४ वटा विद्यालयमा समायोजन, एकीकरण, कक्षा कटौती र दरबन्दी मिलान गरेको जनाएको छ । विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको कक्षा कटौती, समायोजन र एकीकरणले विद्यालयहरुमा राज्यको धेरै ठूलो लगानी बचत भएको जानकारी दिए । आन्तरिक आयमा वृद्धि हुने कार्यहरू गरिएको उसले जनाएको छ ।

रानीमहल दरबारलाई ब्रान्डिङ गर्न प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिकाले सम्मान गरेको छ भने रङरोगन सहित कर्मचारी व्यवस्थापन गरेको छ । तानसेनको ११ नम्बर वडा भवन निर्माण भएको छ भने ९ नम्बरको कार्यालय व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १ को भवन निर्माणाधीन छ । तानसेन नगरपालिकाले वहालविटौरी करको कानून पास गरेर १ लाख ६७ हजार कर संकलन गरेको छ । न्यायिक समितिमा १७ वटा मुद्दा दर्ता भएकोमा अदालतमा ५ वटा, मिलापत्र ५ वटा, तामेलीमा २ वटा, मेलमिलापकर्ताहरुबाट मिलापत्र २ वटा र छलफल हुन बाँकी ३ वटा मुद्दा छन् ।

तानसेन नगरपालिकाले ‘ग’ वर्गको अपाङ्गताता कार्ड भएका व्यक्तिहरुलाई मासिक ५ सय भत्ता उपलब्ध गराएको छ ।

न्यूनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको विद्युत शुल्क नगरपालिकाबाट भुक्तानी गरेको छ । समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने प्रक्रिया अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ ।समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदाय र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिका मार्फत् भुक्तानी गरेको छ ।

एकल वा समूह बनाई ५० बाख्रा, २५ पाडा, ३० बंगुरपालक कृषकहरुलाई प्रति कृषक अधिकतम २ लाखसम्म अनुदान सम्झौता गरेको छ । दुधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिएको छ भने ‘सिद्धार्थ आर्थिक करिडोर’ विकास लक्ष्य हासिल गर्न ६ बुँदे घोषण पत्र जारी गरेको नगरपालिकाले जनाएको छ । अमरनारायण मन्दिरको जिर्णोद्धार, वडा नं. ६ को जैसीचौपारी–कारागार सडक स्तरोन्नति, तानसेन नगरपालिकाको मूलभवनको मिनिहल तथा चमेना गृह निर्माण र वडा नं. १२ को बौघागुम्हा–छेर्लुङ्ग जाने पक्की बाटो निर्माण कार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका १४ वडामा ४८५ वटा योजनाहरु सञ्चालन छन् ।

योजनाको उपकरणसहित अनुगमन गरेको जनाएको छ । टुँडिखेल व्यवस्थापन भएको छ । नगरपालिकामा सर्दै आएको बेरुजु १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ महालेखा परीक्षकको कार्यालयबाट फर्छ्यौट गरिएको छ । औद्योगिक ग्राम स्थापनको कार्यका लागि उद्योग मन्त्रालयबाट थप ८० लाख बजेट निकासा सुनिश्चितता भएको नगरप्रवक्ता कार्कीले बताए । विश्व बैंकको सहयोगमा ६१ करोडको डीपीआर तयार गरिएको छ । तानसेनको पुरानो बसपार्कमा मल्टिलियर कार पार्कीङ्ग र तानसेन–५ कैलाशनगरमा ८ सय क्षमताको सिटी हलको डीपीआरको काम सुरु गरेको जनाएको छ । वनदेवीमा बसपार्क निर्माणका लागि बोलपत्र आह्वान गरेर सम्झौता गरी २५ करोड ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?