कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यार्सागुम्बाको सुरक्षामा युवा गस्ती

महेश केसी

रुकुम पूर्व — बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनको मिति नजिकिँदै गर्दा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ र २ का स्थानीय युवाले सुरक्षा गस्ती सुरु गरेका छन् । तर सुरक्षा गर्ने काममा पछिल्लोपल्टे मौसम प्रतिकूल हुँदा चुनौती थपिएको छ । हिउँ छिचौल्दै यार्सागुम्बा सुरक्षाका लागी करिब ३ सय जना स्थानीय युवा आइतबार यार्सा पाइने पाटन क्षेत्रतर्फ लागेका छन् ।

यार्सागुम्बाको सुरक्षामा युवा गस्ती

यही वैशाख ६ गते पहिलोपल्ट वडा नम्बर १ को मैकोट र आसपास तथा वडा नम्बर २ को पेल्मा र आसपासका गाउँबाट सुरक्षाका लागि भनेर यार्सा पाइने स्थालतर्फ स्थानीय गएका थिए । दुई गाउँका गरी करिब ५ सय भन्दा बढीको संख्यामा गएकामध्ये २५ जनाले मात्रै दुले पार गरेर अघि बढ्न सफल भएको र बाँकी मौसमले साथ नदिँदा फिर्ता आएका थिए । पुथा उत्तरगंगा–१ का अध्यक्ष वीरमान विकले त्यो बेला मौसम खराब भएकाले धेरै जना फर्किएका तर २५ जना युवा अघि बढेको बताए । यसपछि उनीहरु करिब ५ दिनपछि मात्रै परिवपारको सम्पर्कमा आएका थिए ।

बीचमा हिमपात धेरै भएका कारण सुरक्षामा खटिएकाहरु आइतबारबाट पुनः त्यसतर्फ जान सुरु गरेको वडा अध्यक्ष विकले बताए । उनले भने, ‘अघिल्लोपल्ट हिमपातका कारण स्थानीय सुरक्षा जान सकेनन् । अब हिमपात केही कम भएको छ । यसकारण पुनः दुई वडाका स्थानीय युवालाई सरक्षाका लागि खटाइएको छ ।’

सुरक्षाका लागि गएका युवाहरुमध्येका एक खामु विकले पहिला आफूहरु दुले पोस्टमा गएर बस्ने बताए । उनले भने, ‘अघिल्लोपल्ट हामी फर्किएर आयौं । यसपटक हामी यार्सा पाटनसम्म पुगेर अवस्था के छ त्यो हेर्छौं र खबर गर्छौं ।’

यार्सागुम्बा टिप्न सुरु गर्नुभन्दा एक महिना अघिदेखि वडा नं. १, २ र ३ का प्रत्येक घरबाट सुरक्षाका लागि बुकी उक्लिने पुरानो नियम रहेको बताउँदै वडा अध्यक्ष विकले भने, ‘हाम्रो दुई वटा वडाको संयुक्त यार्सा पाटन भएकाले हामी यससँग सम्बन्धित नियम संयुक्त रुपमा बनाएर एकीकृत रुपमा स्थानीयलाई परिचालन गर्छौं ।’

वडा नं. १ र २ को पुपाल, अर्बुजा, गुर्घाट, जंगला, रमण, पानीढाल र कुण्डला लगायतको क्षेत्र र वडा नं. ३ को कालेखागरदेखि सुनदह आसपास, चौरीखर्क र साङ्गे क्षेत्र यार्सागुम्बा पाइने भूभाग भएको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताए । ‘यार्सगुम्बा पाइने क्षेत्रमा स्थानीय प्रहरी/प्रशासनको पनि सुरक्षा रहन्छ । तर पहिलेदेखि नै गाउँले नै सुरक्षा गर्ने चलन भएका कारण एक महिनाअघि स्थानिय खटाउने गरिन्छ ।’ यार्सागुम्बा टिप्नका लागि तयार भइसकेपछि चोरी हुने जोखिम बढेकाले तीनवटै वडाका स्थानीयले स्वयंसेवक भएर गस्ती गर्ने गरेको उनको भनाइ छ ।

यसपटक यार्सा संकलनको सिजनमा हिमपात भएका कारण तत्काल सुरक्षा जरुरी नपर्ने भन्दै त्यहाँ पुगेका सबै फर्किन लागेका वडा नं. २ का अध्यक्ष जसबहादुर सिर्पालीले बताए । ‘हिउँ परेपछि त बुकी आफैं सुरक्षित हुन्छ । सुरक्षा पहराको जरुरी पर्दैन ।’ यसपटक हिउँदमा पर्नुपर्ने हिउँ वैशाखमा परेकाले समस्या परेको भन्दै अध्यक्ष सिर्पालीले हिउँ कम भएर मौसममा सुधार आएमा जेठको पहिलो सातामा यार्सागुम्बा संकलन सुरु गर्ने तयारी रहेको बताए ।

हिमाली जडीबुटी यार्सागुम्बा यस क्षेत्रका बासिन्दाको आम्दानीको प्रमुख माध्यम हो । यसैको संकलन तथा बिक्रीबाट नै स्थानीयले गुजारा गर्दै आएका छन् । जडीबुटी पाइने बुकी–पाटनमा स्थानीयले सुरक्षाको पहल लिने कुराले स्थानीय प्रशासनलाई सहयोग हुने निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । उनले भने, ‘एकदम उचाइमा यार्सागुम्बा पाइने हुनाले सुरक्षाकर्मी, प्रहरी सबै त्यहाँ पुग्न सक्दैनन् । यसमा स्थानीयले हामीसँग समन्वय गरेर सुरक्षामा सहयोग गर्नुहुन्छ । यो हाम्रा लागि सुखद् कुरा हो ।’ यस बीचमा हुनसक्ने ठूला सुरक्षा चुनौतीसँग जुध्न आवश्यक पूर्वतयारीमा भने आफूहरु तम्तयार भएर लाग्ने पनि निमित्त प्रजिअ आचार्यले जनाएका छन् ।

प्रकाशित : वैशाख २९, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?