१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लुम्बिनीमा दोस्रो ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु

भैरहवा — गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबार दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु भएको छ । स्थानीय पवन प्यालेस होटलमा सुरु मार्टमा विभिन्न बुद्धिस्ट मुलुकका २८ वटा ट्राभल तथा टुर्स कम्पनी सहभागी छन् । बिहीबार बिहान लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले मार्टको उद्घाटन गरेका थिए ।   

लुम्बिनीमा दोस्रो ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु

नेपाल पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठले मार्टमा सहभागी हुनका लागि विभिन्न राष्ट्रका ३५ वटा ट्राभल/टुर कम्पनीले माग गरे पनि २८ वटा कम्पनीलाई छनोट गरिएको बताइन् । उनका अनुसार सहभागी हुने ती कम्पनीभारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकालगायत राष्ट्रका छन् ।

‘नेपालबाटपनि त्यही संख्यामा ट्राभल/टुर कम्फनी बित्रेताको रुपमा सहभागी गराई बी–टु–बी कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भनिन्, ‘यस कार्यक्रमबाट लुम्बिनीसहित नेपालका अन्य पर्यटकीय गन्तव्यस्थलको खोजी र प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ ।’ लुम्बिनीमा आयोजना हुने दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको माध्यमबाट भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ती मुलुकबाट हवाई उडान सञ्चालनका लागि पनि सहयोग पुग्ने दाबी उनले गरिन् ।

नेपालमा पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभर नेपालको सम्पदा आध्यात्मिक, सांस्कृतिक, पर्यावरणीय, साहसिक पर्यटन प्रवर्द्धन गर्न यो ट्राभल मार्टको आयोजना गरिएको आयोजक समूहले बताएको छ । सन् २०१९ मा पहिलो पटक बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट गरिएपछि कोभिडका कारण त्यसले बिचमा निरन्तरता पाउन सकेको थिएन । मार्ट सञ्चालनको जिम्मेवारी भने नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) लाई दिएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टका केन्द्रीय अध्यक्ष रमेश थापाले यस कार्यक्रमबाट नेपालको लुम्बिनीसँगै कुन–कुन बौद्धस्थल पर्यटकीय गन्तवय हुन सक्छन् ? भन्नेबारे खोजी र ती स्थलको प्रवर्द्धन हुने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बुद्धिस्ट मुलुकबाट लुम्बिनी आउन चाहने धेरै भए पनि सिधै हवाई यातायात थालनी नहुँदा समस्या भइरहेको बताए । तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याएर लुम्बिनीको प्रवर्द्धनका लागि दबाब पुगोस् भनेर यो मार्ट आयोजना गरिएको बताए ।

प्रकाशित : वैशाख २८, २०८० १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?