'प्रहरी शासक होइन, सेवक हुनुपर्छ' – महानिरीक्षक कुँवर

दीपेन्द्र बडुवाल

बुटवल — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले कार्यालयमा आउने सीमान्तकृत र पहुँच भन्दा टाढा रहेका सेवाग्राहीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । प्रहरी कार्यालयमा दलाल, पहुँच भएका र शक्ति निकट व्यक्ति हाबी हुने गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई भन्दा सीमान्तकृतलाई प्राथमिकता दिन निर्देशन दिए ।

'प्रहरी शासक होइन, सेवक हुनुपर्छ' – महानिरीक्षक कुँवर

संगठनलाई नागरिकको विश्वासिलो संस्थाका रुपमा कायम राख्न प्रहरीको आचारण र व्यवहार परिवर्तन जरुरी रहेको उनले बताए । ‘प्रहरी नागरिकको संगठन हो, नागरिकमैत्री छ भन्ने देखाउन व्यवहार रुपान्तरण जरुरी छ,’ बिहीबार बुटवलस्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै उनले भने, ‘यसले संगठन र नागरिकको छवि उच्च बनाउने छ ।’ प्रहरी शासक नभइ सेवकका रुपमा अघि बढ्नु पर्ने उनले जोड दिए ।

प्रहरीको मनोबलसित जोडिने गरेकाले भौतिक संरचना निर्माण जरुरी रहेको उनले बताए । ‘यसबाहेक सोच र मनोवृत्ति फरक हुनुपर्छ,’ उनले भने, ‘यसले हाम्रो विश्वसनीयता वृद्वि हुन्छ ।’ अहिले व्यक्तिगत स्वार्थ जोडिएका केही ठाउँमा संगठनमा समस्या देखिने गरेको जनाउँदै त्यस्तो स्वार्थ त्याग्न उनले माताहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । ‘हामीप्रति नागरिकको धारण के छ ख्याल गरौं,’ उनले भने, ‘अनि मात्र हामीलाई समाजमा सेवकका रुपमा बुझिन्छ ।’ उनले यदाकता बिचौलियालाई पोसेर निम्न वर्गका नागरिकलाई प्रहरीले सहयोग नगरेको गुनासो आइरहेको जनाउँदै त्यसलाई रोक्नुपर्ने बताए ।

प्रहरीको मुख्य कर्तव्य अपराध नियन्त्रण गर्नु रहेको जनाउँदै त्यसतर्फ विशेष ध्यान दिन उनले प्रहरीलाई निर्देशन गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल आधुनिक सहर बनेको उल्लेख गर्दै यहाँको सुरक्षा व्यवस्थाका लागि विशेष पहल गर्न अनुरोध गरे । निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि उनले अनुरोध गरे । सुरक्षाका लागि प्रहरीले चाल्ने कदममा स्थानीय तहले हातेमालो गर्ने प्रतिबद्वता व्यक्त गरे । साथै पाण्डेयले बुटवलमा रात्रीकालीन बजार सञ्चालनको तयारी गरिरहेको जनाउँदै सुरक्षाका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले प्रदेशको शान्ति, सुरक्षा अब्बल बनाउन लागि परेको जनाए । यहाँ हुने कुनै पनि अपराधका घटनालाई सुक्ष्म अनुसन्धान गरी सफल तुल्याउन प्रहरी लागि परेको उनको भनाइ छ । उनले प्रहरीले जनप्रतिनिधि, राजनीतिक दल, आमनागरिकसँग हातेमालो गरेर समाजमा सुरक्षा व्यवस्था मजबुद बनाउने जनाए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसअघि साँघुरो भवनबाट सेवा दिनु परेको उल्लेख गर्दै अहिले निर्माण भएको आधुनिक भवनका कारण प्रहरीको कार्यशैलीमा सुधार हुने बताए । रुपन्देही बसाइासराइँको केन्द्र भएकाले आगामी दिनमा प्रहरी परिचालन पनि जनसंख्याको अनुपातमा गर्नुपर्नेमा उनले जोड दिए । अझै धेरै प्रहरीका भवन जीर्ण रहेको जनाउँदै त्यस्ता ठाउँमा नयाँ भवन निर्माण गर्न पहल गर्नुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले आफ्नै जग्गामा निर्मित नयाँ भवनबाट अब सेवा प्रवाहमा सहजता हुने जनाए । उनले प्रहरी संगठनको नीति, नियम र कानुनको परिधिमा रहेर प्रहरीले काम गरिरहेको बताए । प्रहरी आम नागरिकको भरोसायोग्य बनाउन आफूहरुले कटिबद्ध भएर काम गरेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाका अनुसार नवनिर्मित भवनमा कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास, नागरिक सहायता कक्ष, मेस भवन र शौचालय रहेका छन् ।

यसअघि इलाका प्रहरी कार्यालय पुरानो र साँघुरो भवनमा रहेको थियो । भवनलाई अपांगमैत्री निर्माण गरिएको छ । महिलामैत्री ब्यारेक रहेको उनले बताए । उद्घाटन कार्यक्रममा भवन निर्माण गर्ने ठेकेदार कम्पनी, उत्कृष्ट प्रहरी कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारको २ करोड ४२ लाख रुपैयाँ लागतमा कार्यालय भवन र ब्यारेकसहितका भवन निर्माण गरिएको हो ।

प्रकाशित : वैशाख २१, २०८० १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?