बाँकेमा अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र स्थापना 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र र अपांग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गरिएको छ । नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र र अपांग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताए ।

उनले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रको सेवालाई प्रभावकारी बनाउन सुझाव दिए ।

‘म स्वास्थ्यमन्त्री हुँदा नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा अघि सारेको हुँ,’ उनले भने, ‘यसका तीन वटा लक्ष्य छन् । नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारण भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नुभन्दा पहिल्यै अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचार पहुँचको दायरामा ल्याउने हो।’

विपन्न समुदायका र त्यसमा पनि अपांगता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै थापाले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपांगता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुगेको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनुपर्ने बताइन् । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा.विवेक बाँस्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रवर्द्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकदको सालिकसमेत पूर्वमन्त्री थापाले अनावरण गरेका थिए । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेका छन् ।

प्रकाशित : चैत्र १८, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सम्झना रसाइली

तनहुँ — जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आचार्य खटिएका छन् । जिल्ला समन्वय समिति तनहुँको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको प्रक्रिया सुरु भएको आचार्यले बताए ।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि आउँदो वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ । कांग्रेसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पाँच हजार मतान्तरले विजयी भएका थिए । पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत प्राप्त गरेका थिए ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएका छन् भने वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।





प्रकाशित : चैत्र १८, २०७९ १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×