एसईईका लागि तिलहरी धितो

राज्यले माविसम्म पढाइ निःशुल्क भने पनि विद्यालयमा मासिक शुल्क तिर्नुपर्ने बाध्यता छ
रुपा गहतराज

नेपालगन्ज — माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी गरिरहेका छोराले प्रवेशपत्र नपाएपछि कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले आफूले लगाइरहेको तिलहरी धितो राखेर पैसा निकालिन् । प्रवेश पत्रको अभावमा परीक्षा दिन नपाउने भएपछि तिलहरी धितो राखेर पैसा निकालेकी हुन् । प्रवेश पत्रका लागि शुल्क स्कुलमा बुझाएपछि शुक्रबार आफ्नो छोराले एसईई परीक्षा दिन पाएको उनले सुनाइन् । 

श्री समावेशी माविमा पढ्ने छोरा पृथ्वीबहादुरको स्कुलको शुल्क तिर्न उनले आफ्नो तिलहरी धितो राखेर विद्यालयलाई पैसा बुझाएकी हुन् । प्रवेश पत्र लिन जाँदा शुल्क सबै बुझाउनुपर्छ भनेपछि केही सीप नलागेर गहनाका नाममा रहेको त्यही एउटा दुई आनाको तिलहरी धितो राखेर शुल्क बुझाएको उनले बताइन् । ‘हुँदा खाने र हुनेखानेको बीचमा यही भिन्नता छ,’ उनले भनिन्, ‘आम्दानीको स्रोत केही छैन । पतिले पठाएको पैसाले सबै खर्च धान्नु पर्दा समस्या छ ।’

कोहलपुरको दशबिघामा रहेको सुनचाँदी पसलमा गएर उनले ५ हजार रुपैयाँमा तिलहरी धितो राखेको बताइन् । मासिक तीन प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेकी हुन् । ‘एक जनाको कमाइले गुजारा चलाउनै मुस्किल छ । एकै चोटि विद्यालयको फिस तिर्ने अवस्था भएन,’ उनले भनिन्, ‘डेढ महिना होस्टेलमा राखेर ट्युसन पनि पढाएकी थिएँ । त्यसैले अहिले प्रवेश पत्र लिकाल्ने बेलामा पैसा पुगेन ।’

कस्तुराका पति रोजगारीका लागि भारतमा छन् । कस्तुरा भने स्वदेशमै खेती किसानी गर्छिन् । उनका पति रोजगारीका लागि फागुन ११ गते भारत पुगेपछि गएको एक हप्तामा उतैबाट ऋण निकालेर २० हजार रुपैयाँ घर पठाएको उनले बताइन् । सोही पैसाले बिमारी छोरा नवीनबहादुरको उपचार गरेको उनले सुनाइन् ।

कस्तुराका दुई छोरा नजिकैको समावेशी माध्यमिक विद्यालय तिलकपुरमा कक्षा १० मा अध्ययन गर्छन् । जेठा छोरा नवीनबहादुर बुढाको स्वास्थ्य अवस्था राम्रो नहुँदा उनले एसईई परीक्षा दिन सकेनन् । ‘भएको बचत पनि बिमारी छोराको उपचारमा खर्च हुन्छ,’ उनले भनिन्, ‘छोरालाई पढाउन अहिलेसम्म १२ हजार ५ सय खर्च भयो । सरहरूले पनि छुट दिएर सहयोग गरदिनु भयो ।’

विद्यालयले विद्यालय विकास सहयोगका नाममा प्रतिविद्यार्थी १ हजार ६ सय, मासिक शुल्क प्रतिमहिना ४ सयका दरले ११ महिनाको ४ हजार ४ सय, रजिस्ट्रेसन शुल्क १ हजार ५ सय, तीनवटा परीक्षाको १ हजार २ सय, प्रयोगात्मक क्रियाकलापका लागि ७ सय र एसईई परीक्षा शुल्क ४ सय रुपैयाँ कक्षा १० का विद्यार्थीबाट विद्यालयले उठाउँदै आएको छ ।

राज्यले माविसम्म पढाइ निःशुल्क भने पनि विद्यालयमा मासिक शुल्क तिर्नुपर्ने बाध्यता छ । यो बाध्यता त्यसै आएको होइन । राज्यको दोहोरो नीतिले अभिभावक र विद्यार्थी मर्कामा परेको श्री समावेशी माविका शिक्षक विवेक वलीले बताए ।

‘अनुमति माविको दिने र शिक्षक दरबन्दी भने प्राविको मात्रै दिंदा यस्तो समस्या आएको हो,’ उनले भने, निजी स्रोतमा शिक्षक राखेर तलब खुवाउनु पर्छ । साथै अतिरिक्त पढाइ सञ्चालन गर्दा सामान्य शुल्क नलिई सम्भवै छैन ।’ यता कोहलपुर नगरपालिका कार्यपालिका सदस्य तथा शिक्षा समिति संयोजक ईश्वरी विश्वकर्मा अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयबाहेकले अतिरिक्त शुल्क लिन नपाउने बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

ह्वीलचियरमै बसेर एसईई

लमजुङमा २ हजार ७ सय ९२ जनाले १७ परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन्
आश गुरुङ

लमजुङ — एक जना निरीक्षकलाई सँगै राखेर सुन्दरबजार नगरपालिका–४ पाँचघरेका ईश्वर अधिकारीले जनविकास मावि बेंसीसहरमा एसईई दिएका छन् ।उक्त स्कुलकै परीक्षार्थी उनको केन्द्र भने जनविकास मावि चण्डीडाँडा हो ।

जनविकास बेंसीसहरका केन्द्राध्यक्ष जितबहादुर कोइरालाका अनुसार माथिल्लो जनविकास जान नसक्ने भएपछि उनलाई तल्लो जनविकासमै परीक्षा दिने व्यवस्था मिलाइएको हो । बजारबाट चण्डीडाँडाको विद्यालयमा पुग्न सवारी साधनमा करिब १५ मिनेट लाग्छ ।

दुवै खुट्टा नचल्ने उनले ह्वीलचियरमै बसेर परीक्षा दिएका हुन । परीक्षा केन्द्रसम्म उनी टेम्पोमा आएका थिए । ‘ईश्वर हिँड्डुल गर्द सक्दैनन् । दुवै खुट्टा नचल्ने भएपछि कसरी माथि जानु । तलैबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । उत्तरपुस्तिका भने माथि (जनविकास चण्डीडाँडा) लगिएको छ’ उनले भने । परीक्षाको तयारी राम्रो गरेको र ढुक्कले परीक्षा दिइरहेको परीक्षार्थी ईश्वरले बताए । बेंसीसहरकै भूपू सैनिक आवासीय मावि केन्द्रमा बेंसीसहर नगरपालिका–१० खासुरबेंसीको जनजागृति माविका परीक्षार्थी सविना तामाङले सहयोगी राखेर परीक्षा दिएकी छन् ।

कक्षा ९ का सोनिया तामाङको सहयोगमा सविनाले परीक्षा दिइरहेको जनजागृतिका प्रधानाध्यापक नन्दबहादुर घलेले बताए । सविनामा हात नचल्ने समस्या छ । ‘लेख्दालेख्दै हातदेखि ज्यान सबै भित्रभित्रै टोक्ने । लेख्नै नमिल्ने भएकाले सहयोगीको व्यवस्था गरेका छौं’ उनले भने । उनलाई केन्द्राध्यक्ष विनोद गुरुङले एक जना निरीक्षक राखेर छुट्टै कोठामा परीक्षा दिने व्यवस्था मिलाएका हुन् ।

बेंसीसहर–२ भकुण्डेको बालकल्याण मावि केन्द्रमा बेंसीसहर–३ बाहुनबेंसीका विजय घिमिरेले सहयोगीको भरमा परीक्षा दिइरहेका छन् । स्थानीय यशोब्रह्म माविका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार दायाँ हात भाँचिएपछि विजयले कक्षा ९ मा पढ्ने विपिन बोहराको सहयोग लिएका छन् । उनलाई पनि परीक्षा दिन एक जना निरीक्षकसहित छुट्टै कोठाको व्यवस्था गरिएको केन्द्राध्यक्ष तीर्थराज न्यौपानेले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख वीरबहादुर गुरुङका अनुसार शुक्रबारको अनिवार्य अंग्रेजी विषयमा ७ छात्र र ८ छात्रा अनुपस्थित रहे । १ हजार ३ सय ६६ पुरुष र १ हजार ४ सय २६ महिला गरी २ हजार ७ सय ९२ जनाले परीक्षा दिएका छन् । २ परीक्षार्थीले ग्रेडवृद्धिको परीक्षा दिनेछन् । जिल्लामा १७ परीक्षा केन्द्र छन् ।

२ दृष्टिविहीन र ९ सुस्तश्रवण परीक्षामा

गोरखा – जिल्लामा २ दृष्टिविहीन र ९ सुस्तश्रवण विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । सहिद स्मृति मावि बुंकोटको दृष्टिविहीन छात्राले हिमालय मावि घैरुङ र देवी जलकुमारी मावि थुमिकी दृष्टिविहीन छात्राले भीमोदय मावि आरुघाटबाट परीक्षा दिएका हुन् । त्यस्तै मनकामना बहिरा माविका ९ विद्यार्थी रत्नराज्य मावि विरेन्चोकबाट परीक्षा दिएका छन् ।

एसईईका लागि १२ संस्थागत र १ सय २२ सामुदायिक विद्यालयका विद्यार्थीका लागि २३ परीक्षा केन्द्र छन् । यस वर्षको एसईई दिने तीन हजार ८ सय ४४ परीक्षार्थीमध्ये पहिलो दिन २३ जना अनुपस्थित रहेको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले जानकारी दिए । ग्रेड वृद्धि परीक्षामा १४ जना, प्राविधिकतर्फका ८२ र साधारण ३ हजार ७ सय ४८ परीक्षार्थीले एसईई दिँदै छन् । पहिलो दिनको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको प्रमुख आचार्यले बताए ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×