कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहराबीचमा झोलुंगे पुल

४ करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा पुल बनेपछि साढे २ घण्टाको बाटो छोट्टिएर २० मिनेटमा
महेश केसी

रुकुम पूर्व — दुई भीमकाय पहराका बीच भएर बग्छ थुन्ने खोला । पुथा उत्तरगंगा गाउँपालिका–२ मा पर्ने यही खोलामाथि पेल्मा र तातोपानी जोड्ने निर्माणाधिन झोलुंगे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । झट्ट हेर्दा असम्भवझैं लाग्ने यस्तो ठाउँमा पुल बनेपछि स्थानीयको यात्रा छोटो र सहज त भएको छ नै, सँगसँगै यसले फरक सुन्दरतासमेत प्रदान गरेको स्थानीय बताउँछन् ।

पहराबीचमा झोलुंगे पुल

३ सय ४२ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङ, जुनाङ, दुले, ठूलो झार्लुङ र सानो झर्लुङ गरेर करिब आधा दर्जन बढी बस्ती जोडिएको वडाध्यक्ष जसबहादुर सेर्पालीले बताए । २०७५ सालदेखि निर्माण थालिएको यो पुलको अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको छ ।

निर्माण जिम्मा लिएको कम्पनी खड्का कृष्ण बाबिरो जेभीका प्रतिनिधि दुधसिंह बुढाले अब यसमा जाली हाल्न बाँकी रहेको जानकारी दिए । पहिले पेल्माबाट थुन्ने खोला झरेर करिब साढे २ घन्टा उकालो उक्लिनु पर्थ्यो । अहिले पुल बनेसँगै २० मिनेटमा छोट्टिएको स्थानीय कर्मदया विकले बताइन् । ‘अहिलेसम्म हामीले खोला झरेर उकालो चढ्दा घन्टौं लाग्थ्यो, अब त धेरै छिटो हुनेभयो,’ उनले भनिन्, ‘झट्ट हेर्दा सपना जस्तो लाग्छ ।’

पुल बनेपछि स्थानीयमा खुसी छाएको छ । वडा कार्यालय, गाउँपालिका केन्द्र र जिल्ला सदरमुकामसम्म जान भीरको बाटो छिचोल्नु पर्थ्यो । यो पुल बरदान साबित भएको गुइबाङका स्थानीय निकाश सिर्पालीले बताए । ‘धेरै कामका लागि पेल्मातर्फ गइरहनुपछ, भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्थ्यो,’ उनले भने, ‘अब त छोटो, सहज र सुरक्षित हुने भयो । हामीले दैनिक उपभोग्य सामान ओसारपसार गर्न सहज र सस्तो पर्ने भयो ।’

यो पुल बनेपछि यहाँको पर्यटकीय स्थल तातोपानी आवातजागत गर्न सहज भएको छ । दोगाडी र कारीखोलाको छेउछाउमा रहेका तातोपानीका मुहानमा नुहाउन र घुम्न जानका लागि यो पुलले सहज बनाएको वडाध्यक्ष सिर्पालीले बताए । ‘अब पर्यटकीय गतिविधि बढ्ने आशा गरेका छौं,’ उनले भने । यो पुल नदीको माथिमाथि भएर बनेको छ भने मध्य भागमा पुगेपछि पहरासँग छोएको छ । आँखाले नभ्याउने अग्ला पहराका बीचमा बनेको यो पुल तर्दा निकै फरक महसुस हुने स्थानीय बताउँछन् । ‘अन्य झोलुंगे पुल तरिरहेकै हो । तर, यो पुल अरुभन्दा निकै फरक छ,’ पेल्माका राजीव पुनले भने, ‘हेर्दा पनि रोचक र तर्दा पनि फरक अनुभूति हुन्छ ।’

संघीय सरकार स्पेन्सन ब्रिज डिबिजनद्वारा भ्याटसहित ४ करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको यो पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री यहाँसम्म पुर्‍याउन निकै कठिन भएको साइड डिभिजन इन्जिनियर प्रवेश रेग्मीले बताए । ‘सवारी साधनको पहुँचभन्दा निकै ढाटा र जिल्लाको दुर्गम ठाउँमा भएका कारण निर्माण स्थलसम्म सामग्री पुर्‍याउन निकै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘निकै खोचमा खोला रहेकाले लठ्ठा फिजाउन र निर्माणका अरु काम गर्न पनि सजिलो थिएन । अन्ततः हामी सफल भयौं ।’

अबको एक महिनाभित्र पुलको सबै काम सकिने समेत इन्जिनियर थापाको भनाइ छ । इन्जिनियर थापाले यो पुलमा ४० एमएमको १२ वटा मेन लठ्ठा, ४० एमएमको २ वटा ह्यान्डल केवल र ३६ एमएमको २ वटा पखेटा लठ्ठा राखिएको बताए । ‘यो सस्पेन्डेट प्रकारको ब्रिज हो,’ उनले भने, ‘निर्माण सामग्रीहरू हुकामसम्म गाडीमा ल्याएर त्यहाँबाट मान्छेले बोकेर ल्याउनुपर्‍यो । एउटा लट्ठा ल्याउन मात्रै करिब १ सय जनाले तीन दिन लगाए ।’ यस पुलको भारवहन क्षमता एक पटकमा ७ सय ३८ जनासम्मले तर्न सक्ने रहेको थापाको भनाइ छ ।

प्रकाशित : चैत्र १७, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?