पीडा भुलेर संरक्षणमा

बर्दिया — जसले आफ्नै बुबालाई मार्यो, अहिले उसैको संरक्षणमा क्रियाशील छन् ठाकुरबाबा–९, हात्तीसारका हेमन्त आचार्य । उनका बुबा ओमप्रकाश जैशी वन्यजन्तु संरक्षणमा क्रियाशील थिए । मध्यवर्ती क्षेत्रका समस्या समाधानको जिम्मेवारी काँधमा बोकेर हिँडेका थिए । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष रहेका बेला ओमप्रकाशको १३ वर्षअघि २०६६ असोज २६ मा हात्ती आक्रमणमा परी मृत्यु भएको हो ।

निकुञ्जसँगै जोडिएको आचार्यको घर छ । बुबाको मृत्युपछि छोरा हेमन्त हात्ती संरक्षणसँगै चोरी सिकार नियन्त्रणमा क्रियाशील छन् । वन्यजन्तु संरक्षणका लागि युवा एकजुट बनाउनुका साथै हारगुहार गर्दै हिँड्छन् । बुबाको वन्यजन्तुको आक्रमणबाट मृत्यु हुँदा छोराले विरोध गरेनन् । बरु उनी वन्यजन्तुको संरक्षणमा लागेर उनीहरूको सुरक्षामै खटिएका छन् । वन्यजन्तुले बुबालाई आक्रमण गरी मारे पनि हेमन्तले हात्ती, बाघ, गैंडालगायत वनको सुरक्षा कसरी गर्न सकिन्छ भन्दै चोरी सिकार नियन्त्रणमा युवा परिचालन गरिरहेका छन् ।
मधुवन नगरपालिका–३ खाताका ५५ वर्षीय भदै थारूले बाघकै कारण एउटा आँखा गुमाए । अहिले उनी बाघकै संरक्षणमा जुटेका छन् । उनीमाथि दुई पटक जंगली जनावरले आक्रमण गरे तर उनी अहिले पनि कसरी वन्यजन्तु संरक्षण गर्न सकिन्छ भन्दै अहोरात्र खटिरहेका छन् । उनमा अहिले पनि उही युवाकालीन जोस र जाँगर छ । अहिले पनि उनी दिनमा एक पटक गौरी सामुदायिक वनको अनुगमन गर्छन् । सामुदायिक वन संरक्षित भएका कारण बाघ, हात्ती र गैंडाको संख्या बढ्दै गएको छ । अचेल आफू जंगल जाँदा वन्यजन्तुको आक्रमणमा पर्ने खतरा भएकाले वन हेरालुसहित समूहमा जाने गरेको उनले बताए ।
वन्यजन्तुको संरक्षणमा विगत दुई दशकदेखि लागेका थारूलाई गौरी सामुदायिक वन अनुगमनमा जाँदा २०६० पुस २२ गते बाघले झम्टेर आँखा च्यातिदिएको हो । त्यसबेला उनी वन अध्यक्षमा पहिलो पटक निर्वाचित भएका थिए । उक्त सामुदायिक वनमा खरखडाइ खुलेको थियो । बाघले आक्रमण गर्दा दिउँसो १ बजेको थियो । वनमा प्रवेश गरेका उपभोक्ताले वन र वन्यजन्तुमा कुनै हानिनोक्सानी नपुर्याऊन् भनेर अनुगमनमा पुगेका थारूमाथि बाघले आक्रमण गरेको थियो । ‘बाघले झम्टिँदा एकछिन त अत्तालिएँ,’ उनले भने, ‘जब ममाथि बाघको पञ्जाले पहिलो पटकमै आँखामा हिर्कायो । अनि, घोप्टो पारेर शरीरका अन्य भागमा आक्रमण सुरु गर्न थाल्यो ।’
बाघले करिब दुई मिनेट लछारपछार पारेपछि गुहार माग्दै चिच्याउँदा खरखडाइ गर्न आएका करिब डेढ सय जना जंगलबाटै भागेको थारूले सुनाए । करिब एक महिना नेपालगन्जस्थित फत्तेवाल आँखा उपचार केन्द्रमा शल्यक्रिया गरी उनी घर फर्केका थिए । उनी अहिले पनि चोरी सिकारीविरुद्ध अभियान र संरक्षणमा खटिएका छन् । ‘चोट बिर्सिएर अहिले पनि संरक्षणमै तल्लीन छु,’ उनले भने, ‘वन्यजन्तुसँग इख साँधेर बदलाको भावना राख्यौं भने मान्छे हुनुको के अर्थ भयो र ?’
प्रकाशित : चैत्र १७, २०७९ ११:२३