४.८६ किलोमिटर सडक स्तरोन्नतिका लागि विश्व बैंकको ५९ करोड सहयोग

सन्जु पौडेल

तिलोत्तमा — विश्व बैंकको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तरोन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने सडकका लागि विश्व बैंकले सघाएको हो । उक्त सडकखण्डको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । 

४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् । सो कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएकोमध्ये तिलोत्तमा नगरपालिकाले काम सुरु गरेकोप्रति खुसी व्यक्त गरे । उनले कृषि उत्पादन र बजारीकरणका लागि सहजता होस् भन्ने उद्देश्यले ऋण सहयोग गरेको बताए ।

नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने गरी काम भइरहेको बताए । यो सडकले त्यस क्षेत्रका व्यक्तिलाई आर्थिक उपार्जनमा जोड्ने बताए । कृषिलाई आर्थिक विकाससँग जोडेर बाटो बनाउन विश्व बैंकले सहयोग गरेको छ,’ उनले भने, ‘निर्माण सम्पन्न हुनका लागि स्थानीयको समेत सहयोगको आवश्यकता छ । उनले बजारका सहरी सडकजस्तै सडक बन्ने बताउँदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरिक पर्यटक भित्र्याउनका लागि निकै महत्त्वपूर्ण सावित हुने बताए । खाँणले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.२ किलोमिटर थप्ने पहल गरेको बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७ देखि ९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताइन् । उनले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरिन् ।

तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गतेदेखि सम्झौता सुरु भएको बताए । उनले अहिलेसम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले साइट क्लियरेन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्नेलगायत काम भइरहेको बताए ।

नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्ट्रक्चर प्रोजेक्टअन्तर्गत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८ सय ९० रुपैयाँमा शर्मा सगुन जेभी बुटवलले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिए । उनका अनुसार सडकको चौडाई १३ मिटरसम्म हुनेछ । नालीमाथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुनेछन् ।

नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित : चैत्र १६, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ वर्षको अवसरमा यामाहाले ल्यायो 'पावर अफ फाइभ' उपहार योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले भरिपूर्ण योजना ल्याएको छ । 'पावर अफ फाइभ' नामक योजना अन्तर्गत यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै ग्राहकले अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, खरिद गरेपछि फेरि 'वाइल्ड कार्ड'मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने र खरिद गरेपश्चात् पनि ३ जना भाग्यशाली विजेताले 'रेफरल कोड' सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्ने अवसर पाउने एमएडब्लूले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना आर १५, एमटी १५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल तथा स्कुटरमा मात्र लागू हुनेछ । एमएडब्लू यामाहाका सीईओ राजु क्षेत्रीले ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न यो योजना ल्याइएको बताए । उनका अनुसार साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।


प्रकाशित : चैत्र १६, २०७९ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×