भेरी अस्पतालमा एमडी र एमएसको पढाइ हुने

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जमा अब डक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ सर्जरी (एमएस) को पढाइ हुने भएको छ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएसँगै भेरी अस्पताललाई एमडी र एमएसको पढाइ हुने भएको हो । संघ सरकार मातहत भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन पाएका थिएनन् ।

वीर अस्पतालमा एमडी/एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने छन् । भेरी अस्पतालको मातहतमा उनीहरुले एमडी/एमएसको अध्ययन पूरा गर्नेछन् । यो सँगै भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.राजन पाण्डेले बताए । ‘एमबीबीएस डाक्टरले बिरामीको हेरचाह गर्ने ठाउँमा अब एमडीकै डाक्टर बस्ने भएपछि बिरामीले गुणस्तरीय सेवा थप बढने भएको छ,’ डा.पाण्डेले भने, ‘यो सँगै शैक्षिक गतिविधि र अनुसन्धानका गतिविधिहरु पनि पढ्ने छन् ।’
सरकारले भेरी अस्पतालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत गरेपछि अस्पतालका मेसु डा.बद्री चापागाईंले अस्पतालबाट बिरामीले पाउने सेवामा थप गुणात्मक सुधार आउने दाबी गरे । ‘एमडी/एमएस अध्ययन गर्नेहरु बनिसकेका डाक्टर नै हुन्', उनले भने, ‘बनिसकेका डाक्टरहरुले प्रदान गर्ने सेवा थप गुणस्तरीय र स्तरीय नै हुन्छन् ।’
न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि संचालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका मेसु डा.चापागाईंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि संचालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो ।
प्रकाशित : चैत्र १६, २०७९ १६:१७