आईसीपी निर्माणमा देखिएका समस्या सुल्झाउने सहमति

दीपेन्द्र बडुवाल

भैरहवा — नेपाली र भारतीय सीमावर्ती प्रशासन र सुरक्षा अधिकारीहरूबीच रुपन्देहीको बेलहियामा निर्माणाधीन एकीकृत चेक पोस्ट (आईसीपी) निर्माणमा देखिएका अस्पष्टता र द्धिविधा समाधान गर्ने समझदारी भएको छ ।

लामो समयपछि अहिले बेलहिया नाका नजिकै आईसीपी निर्माणको काम अगाडि बढेको छ । मंगलबार भारतको नौतुनहवास्थित महाराजगन्जमा भएको सीमा समन्वय बैठकमा आईसीपीलाई पूर्णता दिन अहिले दुबै मुलुकतर्फ देखिएका जग्गा लगायत समस्या हल गर्न सीमावर्ती सरकारी अधिकारी सहमत भएका हुन् ।

जिल्ला प्रशासन रुपन्देहीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार उक्त बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, नेपाल र सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, छिमेकी पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको सहभागिता रहेको थियो ।

भारतका तर्फबाट महाराजगन्जका डीएम सतेन्द्र कुमारको नेतृत्वमा प्रशासन र सुरक्षा प्रमुख सहभागी थिए । बैठकमा दुबै मुलुकमा आपराधिक गतिविधि नियन्त्रण गर्न सूचना आदानप्रदान गर्ने, मानव बेचबिखन, लागू औषध नियन्त्रण, अवैध मुद्रा, चोरी निकासी नियन्त्रणका लागि दुबै मुलुकका तर्फबाट गस्ती तथा पेट्रोलिङ बढाउने निर्णय भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १५, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?