कोहलपुरको विकासका लागि ‘भिजन कम्पिटिसन’

रुपा गहतराज

नेपालगन्ज — कोहलपुर नगरपालिकाले नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव माग गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको सामान्य देखिएका ठूला विषय पनि हुन सक्छन् । त्यस्ता विषयहरु बौद्धिक व्यक्तिबाट आओस् भन्ने हाम्रो सोचाइ हो,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’

स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने छन् ।

यसरी प्रस्तावना पेश गर्दा कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी कोहलपुरको विकास, निर्माण, सुशासन लगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ।

नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास, संस्थागत विकास, सुशासन, वातावरण तथा विपद् व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोगका साथै सूचना, सञ्चार एवम् कुनै भए सो समेत उल्लेख गरी सो क्षेत्रको सुधारका लागि नगरपालिकाले अबलम्वन गर्नुपर्ने नीति एवम् ठोस कार्ययोजनासहितको सुझाव पेश गर्नुपर्ने शर्त राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

पेश भएका प्रस्तावनालाई नगरपालिकाले अध्ययन गरि संक्षिप्त सूचीमा परेका प्रस्तावक स्वयम नगरपालिकामा उपस्थित भइ वा भर्चुअल माध्यमबाट प्रस्तुति गर्नुपर्ने नियम नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने प्रस्तावना मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रथम हुने प्रस्तावक वा विज्ञलाई कोहलपुर नगरपालिकाको सद्भावना दूत वा विज्ञ समूहमा नियुक्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

ठाकुरबाबा नगरपालिकाद्वारा स्वास्थ्य सेवा कार्यविधि पारित

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाइ, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सभ्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले पालिकामा ५ लाख र हरेक स्वास्थ्य संस्था तहमा २० हजार कोष स्थापना गरिएको बताए । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि पारित गरेको यो पहिलो भएको उनले जनाए । बिग्रेका औजार तत्काल मर्मतसभ्भार गरी पुनःसञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिने भएको छ । मर्मत सम्भारमा परिचालित प्राविधिकलाई पारिश्रमिक दिने भएको छ । आगामी दिनमा स्वास्थ्य सेवाका संरचना बनाउदा दिगोपनका लागि योजना बनाउने नगर प्रमुख तिलक लम्सालले बताए ।

ग्रामिण जागरण संघ र टिडीएच फाउन्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित परियोजनाको आइतबार शुभारम्भ भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, उपप्रमुख विना भट्टराई लगायतका वक्ताले यस नीतिबाट मुख्यरुपमा सेवाग्राही,सेवाग्राहीसँग आउने मानिस र स्वास्थ्यकर्मी लाभान्वित हुने बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×