ठाकुरबाबा नगरपालिकाद्वारा स्वास्थ्य सेवा कार्यविधि पारित

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाइ, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सभ्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले पालिकामा ५ लाख र हरेक स्वास्थ्य संस्था तहमा २० हजार कोष स्थापना गरिएको बताए । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि पारित गरेको यो पहिलो भएको उनले जनाए । बिग्रेका औजार तत्काल मर्मतसभ्भार गरी पुनःसञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिने भएको छ । मर्मत सम्भारमा परिचालित प्राविधिकलाई पारिश्रमिक दिने भएको छ । आगामी दिनमा स्वास्थ्य सेवाका संरचना बनाउदा दिगोपनका लागि योजना बनाउने नगर प्रमुख तिलक लम्सालले बताए ।

ग्रामिण जागरण संघ र टिडीएच फाउन्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित परियोजनाको आइतबार शुभारम्भ भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, उपप्रमुख विना भट्टराई लगायतका वक्ताले यस नीतिबाट मुख्यरुपमा सेवाग्राही,सेवाग्राहीसँग आउने मानिस र स्वास्थ्यकर्मी लाभान्वित हुने बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहमा धमाधम आफ्नै पाठ्यक्रम

आश गुरुङ

लमजुङ — कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको राइनास नगरपालिका अहिले दोस्रो चरणको स्थानीय पाठ्यक्रम निर्माणको चरणमा छ ।

उसले आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरी कक्षा ६, ७ र ८ को स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको छ । यसको मस्यौदा तयार पारेर सरोकारवालाबीच लैजाने तयारी भइरहेको प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । उनका अनुसार प्राप्त सुझाव सल्लाहका आधारमा सबै प्रक्रिया पूरा गरेर पाठ्यक्रमको अन्तिम रुप दिइनेछ ।

नगर प्रमुख खड्गबहादुर गुरुङले विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार गरिएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने दाबी गरे ।

बेंसीसहर नगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयमा आगामी शैक्षिक सत्रदेखि उक्त पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम तयार पारिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । उनका अनुसार बेंसीसहरका विद्यालयमा कक्षा १ देखि ८ सम्म आमागी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिनेछ । पाठ्यक्रम निर्माणकार्य सकिएसँगै बेंसीसहरमा सामुदायिक तथा संस्थागत विद्यालयमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम पठाइसकिएको उनले बताए ।

स्थानीय पाठ्यक्रममा बेंसीसहर नगरपालिकाको परिचय, क्षेत्र निर्धारण, सिकाइ उपलब्धि तालिका, विषय विस्तृतीकरण, शिक्षण निर्देशन, पोषण र खाद्य सुरक्षासँग सान्दर्भिक विषयवस्तु, खाद्य स्वच्छता नियन्त्रणका उपायहरु, भौतिक जोखिम नियन्त्रणका उपायहरु, रसायनिक जोखिम नियन्त्रणका उपायहरु, जैविक जोखिम नियन्त्रणका उपायहरु, विद्यार्थी मूल्यांकन प्रक्रिया, विद्यार्थी उपलब्धि स्तर र त्यसको सामान्य व्याख्या, विद्यार्थी मल्यांकन, आवधिक परीक्षा योजना ढाँचा लगायतका विषयवस्तुहरु समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए ।

पहिलोपटक स्थानीय तह सञ्चालनको उत्तरार्द्धमा मर्स्याङ्दी गाउँपालिका र मध्य नेपाल नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेपछि अन्य स्थानीय तहले पनि निर्माण थालेका हुन् । दूधपोखरी र क्व्होलासोंथार गाउँपालिकाले यस वर्ष पाठ्यक्रम तयार गरेर अर्को शैक्षिक सत्रदेखि लागू गर्ने गरी बजेट विनियोजन गरेको छ । दोर्दी गाउँपालिकाले पनि पाठ्यक्रम निर्माणको तयारी थालेको छ ।

स्थानीय तहभित्रको ऐतिहासिक, सांस्कृतिक, पौराणिक विषयवस्तुलाई समेटेर विद्यालयमा गत शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाको ऐतिहासिक, पर्यटकीयस्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेशका विषयवस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गरी गत शैक्षिक सत्रदेखि लागू गरिएको बताए । मध्यनेपाल र मर्स्याङ्दीले १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

सुन्दर बजार नगरपालिका सामाजिक विकास शाखाका उपसचिव ठाकुरजी तिवारीले चालु शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको बताए । उनका अनुसार कक्षा १ देखि ८ कक्षासम्म लागू गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङका अनुसार स्थानीय तहले धमाधम स्थानीय परिवेश समेटेर आफ्नै पाठ्यक्रम निर्माण गर्न थालेका छन् । ‘स्थानीय तहले आफ्नै पाठ्यक्रम लागू गर्नु राम्रो हो । यो उनीहरको अधिकार पनि हो,’ उनले भने ।

प्रकाशित : चैत्र १३, २०७९ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×