दीर्घरोगीलाई निःशुल्क औषधि

कान्तिपुर संवाददाता

अर्घाखाँची — मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार ४ सय ८७ दीर्घरोगी रहेको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले उच्च ब्लडप्रेसरका १ हजार १ सय ७७ जना, सुगरका २ सय ६७ जना र अन्य ४३ जनाको स्वास्थ्य परीक्षण गरेको बताए । तीमध्ये १ हजार १ सय ५९ जनालाई औषधि वितरण गरिएको छ । कुन वडामा कति जना दीर्घरोगी छन् र कतिले औषधि सेवन गर्छन् भनेर वडाबाट तथ्यांक संकलन गरेपछि उपचारमा लागेको उनले बताए । प्रारम्भिक तथ्यांक संकलन गर्दा १ हजार ३ सय ६० जना भेटिए पनि पछि उपचार गर्ने क्रममा १ सय २७ जना थपिएको उनले सुनाए ।

पालिकाले गाउँसभाबाट दीर्घरोगीको औषधि उपचारका लागि यस आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । १३ लाख रुपैयाँको औषधि खरिद गरेको छ । सबै रकम खर्च नहुने भएपछि हिउँदे अधिवेशनबाट १२ लाख रुपैयाँ रकमान्तर गरेको छ । सबै वडाका स्वास्थ्य चौकीमा शिविर राखेरै बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि सेवन गरिरहेका र गर्नुपर्ने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ । अब निश्चित दिन तोकेर सेवालाई निरन्तरता दिइने भुसालले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,'राष्ट्रपति पौडेलले भने, 'जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतीका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×