विश्वासको मत लिने अवसर नै नदिई मुख्यमन्त्रीमा दाबी

तत्काल राजीनामाका लागि दबाब दिने उद्देश्य, प्रदेशसभा सामना गर्ने मुख्यमन्त्रीको तयारी
घनश्याम गौतम

रूपन्देही — लुम्बिनीमा नयाँ गठबन्धनअनुसार सरकार गठन गर्न कांग्रेससहितका दलले प्रदेश प्रमुखसमक्ष आइतबार दाबी पेस गरेका छन् । संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्री नेतृत्वको दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । तर, लुम्बिनी प्रदेशका कांग्रेस, माओवादी, नागरिक उन्मुक्तिसहितका ८ दल एमाले नेता एवं मुख्यमन्त्री लीला गिरीलाई तत्काल राजीनामाका लागि दबाब दिने उद्देश्यसहित मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा गिरी पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ८ दलको समर्थनसहित माघ ५ मा ५८ सांसदको विश्वासको मत पाएका थिए । प्रदेशसभाका ८ दल र एक स्वतन्त्र गरी ५४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आग्रह गरेका हुन् । लुम्बिनीमा यसअघि पनि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पारेर माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठन गर्न पनि संविधानको १६८ को २ नै प्रयोग गरिएको थियो ।

संविधानमा १६८ को २ अनुसार बनेको सरकारले विश्वास गुमाएमा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलले सरकार बनाउन सक्ने व्यवस्था छ । लुम्बिनीमा सबैभन्दा ठूलो दल एमाले नै छ । त्यसैले दलहरूले एमालेलाई थप १ महिना सरकारमा बस्न नदिनकै लागि दुई वा दुईभन्दा बढी दलको सहभागिताकै सरकार बनाउने प्रयास गरेका हुन् । मुख्यमन्त्री गिरीलाई दिएको समर्थन पार्टीहरूले फिर्ता लिए पनि संवैधानिक व्यवस्थाअनुसार उनलाई ३० दिनभित्र प्रदेशसभामा बहुमत सिद्ध गर्ने समयसीमा रहन्छ । त्यस अवधिमा मुख्यमन्त्री गिरीले बहुमत कायम रहेको सिद्ध गर्न नसके उनी स्वतः पदमुक्त हुनेछन् ।

स्वतः पदमुक्त र मुख्यमन्त्रीको राजीनामाबाहेक अन्य अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने कानुनी र संवैधानिक व्यवस्था नभएको अधिवक्ता खुमाकान्त पौडेलले बताए । ‘अहिले दलहरूले जुन अभ्यास गर्न खोज्दै छन्, त्यो कानुनतः गलत देखिन्छ,’ उनले भने, ‘दलहरूले समर्थन फिर्ता र सरकार अल्पमतमा परेको प्रमाणित प्रदेशसभाभित्रै गर्नुपर्थ्यो र त्यसको जानकारी प्रदेशसभाले प्रदेश प्रमुखलाई दिनुपर्थ्यो ।’ यसअघि केसी नेतृत्वको सरकार गठनका समयमा प्रदेशसभा अधिवेशन स्थगित भएको समय भएको र अहिले अधिवेशन पनि जारी रहेकाले दलहरूको प्रयास संविधानअनुसार नदेखिएको उनले बताए ।

मुख्यमन्त्रीमा प्रस्तावित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले यसअघि पनि लुम्बिनी र गण्डकी प्रदेशसभामा १६८ को २ अनुसार बनेको सरकार अल्पमतमा परेपछि बहुमत जुटाउन सक्ने अर्को दलको नेता त्यही धाराअनुसार नै मुख्यमन्त्री बनेको नजिर रहेकाले आफूहरूले त्यही प्रयोग गरेर अघि बढ्न खोजेको बताए । ‘हाम्रोमा यसअघि पनि यही धाराकै प्रयोग गरेर कुलप्रसाद केसीजी मुख्यमन्त्री बन्नुभयो, गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पनि त्यहीअनुसार नै बन्नुभयो,’ उनले भने, ‘त्यसैले अहिले पनि हाम्रो यो दाबी स्वाभाविक छ ।’ प्रदेश प्रमुखसँग पनि आफूहरूले पर्याप्त छलफल गरेको उनले बताए । चौधरीलाई कांग्रेस, माओवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, लोसपा, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

मुख्यमन्त्री गिरीले सरकार अल्पमतमा परे/नपरेको परीक्षण गर्ने थलो प्रदेशसभा नै रहेकाले आफूले त्यसको परीक्षण प्रदेशसभामै गर्ने बताए । ‘कसले कहाँ के माग गरे भन्ने कुरा प्रमुख होइन, प्रमुख त प्रदेशसभाको अधिकार र अनुमति नै हो,’ उनले भने, ‘तसर्थ, प्रदेशसभा फेस गरेर अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’ ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको र यहीअनुसार अघि बढ्ने उनले बताए । ८ दलले प्रदेश प्रमुखसमक्ष बुझाएको निवेदनको बोधार्थ प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् । समर्थन फिर्ता लिने प्रयोजनकै लागि यसअघि फागुन १७ र चैत ७ गते प्रदेशसभाको बैठक आह्वान गरिए को थियो । फागुन १७ मा समर्थन फिर्ता कार्यसूचीमै नपरेपछि विशेष समय दिएर प्रदेशसभा सदस्यलाई बोल्न लगाइएको थियो । चैत ७ गतेको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

८७ सदस्यीय प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३, नेकपा एस, जनमोर्चा र स्वतन्त्रबाट १/१ प्रदेशसभा सदस्य छन् । एमाले नेतृत्वको सरकारमा कांग्रेस र जनमोर्चाबाहेकका दल सहभागी थिए ।

मन्त्रीको राजीनामा

नयाँ समीकरणपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएका छन् । सरकारमा सहभागी एमाले र राप्रपाबाहेकका दलले आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा दर्ता गराएको मुख्यमन्त्री गिरीका स्वकीय सचिव कृष्णबहादुर कुमालले बताए ।

मुख्यमन्त्री गिरी नेतृत्वको सरकारमा माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री थिइन् । माओवादीको आन्तरिक विवादले अन्य दुई मन्त्रीले पदबहाली गरे पनि केसीले पदबहाली नगरी राजीनामा दिएकी हुन् । त्यस्तै सामाजिक विकासमन्त्री बनेका जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पनि राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ३, राप्रपा, जनमत र जसपाका १/१ मन्त्री थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

छेडाखोलाका माछालाई बजारीकरण

असला माछालाई आधुनिक प्रविधिबाट सुकुटी बनाएर ब्रान्डिङ गरी बजार पठाइने
हरिहरसिंह राठौर

जाजरकोट — ‘राजैका दरबार लिन्या छेडागाडका माछारात दिन बाडुल्की ल्याउन्या मेरा माया काँछ ?’

छेडाखोलाका माछाबारे यस्ता स्थानीय गीत धेरै छन् । गीत मात्रै हैन छेडागाड (खोला) वरपरका कुशे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका दर्जनौं बस्ती छेडाखोला र छेडाखोलाका शाखा खोलाकै माछामा निर्भर छन् । छेडागाड नगरपालिका यहाँको असला माछालाई आधुनिक प्रविधिबाट सुकुटी बनाएर ब्रान्डेङ गरी बजार लैजाने तयारीमा छ ।

हालसम्म परम्परागत रूपले आगोमा सुकाएर र डढाएर देशका विभिन्न सहरमा पुर्‍याइने गरिएको भए पनि अब व्यवस्थित र आधुनिक प्रविधिको प्रयोग गरी सुकाएर लेभलसहित प्याकेजिङ गरी बजारमा पठाउने निर्णय नगरपालिकाले गरेको हो । ‘माछालाई एकनासले सुकुटी बनाउन स्थानीय समूहलाई उपकरण अनुदानमा दिँदै छौं,’ नगर प्रमुख रत्नबहादुर खड्काले भने, ‘सुकुटी माछालाई खाद्य तथा गुणस्तर विभागको अनुमति लिएर ब्रान्ड दिएर नै बजार पठाउने निर्णय गरेका छौं ।’ छेडाखोलामा मिसिने तत्कालीन पैंकसहित अर्छानी, ढिमे, कार्की गाउँ, साल्मा, दशेरा र सीमा गाविसका विभिन्न खोलानालामा माछा पस्ने स्रोत छेडागाड नै हो ।

कर्णालीमा मिसिने भेरी नदीको अन्तिम ठूलो शाखा छेडागाड नै हो । डोल्पा–जाजरकोट सडकखण्डको छेडा बजारदेखि कुशेको घरंगाबजारसम्म करिब एक दर्जन साना–ठूला व्यापारिक केन्द्र छन् । यी बजारमा पुग्ने धेरैको पनि बसुन्जेल खाने र घर फर्कंदा कोसेली लैजाने माछाकै सुकुटी हो । छेडागाड बजारदेखि मोर्क, वालुवा, मनघाट, थलह, मीलबजार, मटेला, बाटुले, घरंगासमेतका बजारमा पुसदेखि वैशाख महिनासम्म मुख्य व्यापार भनेकै सुकुटी माछा हो ।

अहिले स्थानीय बजारमा ताजा माछा ७ सय र सुकुटी माछा प्रतिकेजी ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ‘कुनै बेला तत्कालीन जाजरकोटको दरबारमा मात्रै हैन काठमाडौंको दरवारमासमेत छेडाखोलाको माछा नियमित पुर्‍याउनुपर्थ्यो,’ जाजरकोटका तालुकदार मुखियासमेत रहेका योगशमशेर शाहले भने, ‘अब ती माछालाई ब्रान्ड बनाएर बजारमा पुर्‍याउने मात्रै हैन, असलाका प्रजाति जोगाउन हामीले विभिन्न योजना पनि अघि सारेका छौं ।’

छेडागाड–५ सिल्पयाका ४० वर्षीय कर्णबहादुर रोकायको दिनचर्या माछाकै सिकारमा बित्ने गरेको छ । २०५५ सालदेखि उनी माछाकै व्यापारमा छन् । रोकाय हरेक अपराह्न ३ बजे छेडाखोलामा माछा मार्न पासो हाल्न जान्छन् । करिब ३ घण्टाको समयमा विभिन्न स्थानमा ६० वटा जति पासो थाप्छन् । सहर, वामलगायत प्रजातिका ठूला माछालाई बल्छी पनि थाप्ने गर्छन् । बिहानै ४ बजे उठेर पासो निकाल्न जान्छन् । माछा बेचेर हरेक दिन उनको कमाइ सरदर ५ हजार रुपैयाँजति हुन्छ । उनले ३५ वटा बाख्रासमेत पालेका छन् । उनी बाख्रा चराउँदै चराउँदै साँझका लागि पासा तयार गर्छन् ।

माछा बेचेरै रोकायले ४ छोरी र एक छोरासहित शिक्षादीक्षा र परिवारको लालनपालन धानेका छन् । माछा बेचेरै परिवार खर्च धानेर उनी बर्सेनि ३ लाखसम्म कमाउँछन् ।

प्रकाशित : चैत्र १३, २०७९ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×