जग्गा नपाउँदा क्षयरोग अस्पताल अलपत्र

भवन बनाउन छुट्याइएको बजेट तीनपटक फिर्ता, यस वर्ष १३ करोड ९९ लाख रुपैयाँ विनियोजन
जे पाण्डे

बाँके — क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीति छ । तर, यहाँ आएका बिरामीलाई राख्न सक्ने भवन र उपचार गर्ने अस्पतालसमेत छैन । बाँकेमा लुम्बिनी प्रदेशस्तरीय अस्पताल बनाउने भनेको २७ वर्ष भयो । अहिलेसम्म भवन निर्माणका लागि जग्गासमेत उपलब्ध गराइएको छैन । एउटा अति नै जीर्ण घरको कोठा भाडामा लिएर उपचार गर्दा बिरामी थप रोग संक्रमणको जोखिममा छन् ।

जग्गा नपाउँदा क्षयरोग अस्पताल अलपत्र

भवन निर्माणका लागि छुट्याइएको बजेट तीनपटक फिर्ता भयो । यस वर्ष पनि स्वास्थ्य मन्त्रालयले १३ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जग्गा नै उपलब्ध नभएको अवस्थामा पठाइएको रकमले भवन कहाँ र कसरी निर्माण गर्ने भन्ने कुनै टुंगो छैन । राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण र जग्गा प्राप्तिको प्रक्रियालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्वीकृति दिएको थियो । तर, बिरामीको उपचारप्रति गम्भीर नभएकाले तीन तहका सरकार हुँदासमेत जग्गा उपलब्ध गराउने सक्रियता देखाएका छैनन् ।

जग्गा खोजीमा मन्त्रालय, विभाग र पालिकाहरूले एकअर्कालाई देखाउँदै पन्छिँदै आएका छन् । ‘पत्राचार गरेको कागजको चाङ लागेको छ,’ सरकारले उपचारका लागि सहकार्य गरेको टीबी नेपाल क्षयरोग रेफरल सेन्टरका म्यानेजर हिक्मतबहादुर खड्काले भने, ‘मन्त्रालयका अधिकारीलाई रोग लाग्ने भए थाहा पाउँथे । गरिबलाई लाग्ने हुँदा कोही जिम्मेवार र गम्भीर देखिएका छैनन् ।’ केन्द्रका लागि २०५२ सालदेखि नै जग्गा खोजी सुरु भएको हो । सरकारले टीबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगन्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । जहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोग रोगको परीक्षण गर्न आउँछन् । सरकारले बाँकेमा क्षयरोगका बिरामीका लागि २५ शय्याको अस्पताल सञ्चालन गरेको थियो । टीबी परीक्षणका लागि चाहिने उपकरण छन् । तर, उपकरण राख्ने कोठा छैनन् । बिरामीका कुरुवा बस्ने ठाउँ छैन । शौचालय र पार्किङ व्यवस्थित छैन । अस्पताल सञ्चालनका लागि चाहिने कुनै पनि मापदण्ड पूरा भएको छैन । जीर्ण भवनका कोठाहरू अति साँघुरा भएकाले २०/३० जना बिरामीभन्दा बढी राख्न सक्ने अवस्था छैन ।

जिल्ला प्रशासन र भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले चैत ९ मा सरकारी सार्वजनिक जग्गा दर्ता उपयोग तथा लिजमा लिने कार्यविधिसम्बन्धी बैठकद्वारा महादेवपुरीको सि.नं. ०३५–१०० कित्ता नम्बर ३ क्षेत्रफल १०८३६ दशमलव २० वर्गमिटर र त्यहीको सि.नं. ३५–११०१ कित्ता नम्बर ४ को २७०९ दशमलव ५ वर्ग मिटर जग्गाको वन क्षेत्रमा स्थलगत अवस्था बुझी प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा उपसमिति गठन गरेको छ । ‘त्यो उपसमितिले कस्तो प्रतिवेदन दिन्छ, त्यो हेरेर मन्त्रालयलाई जानकारी पठाउँछौं,’ बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षयरोग संक्रमण र यसबाट हुने मृत्युदर घटेको छैन । सहजै औषधि पाउन सक्ने बाँकेजस्तो तराईको जिल्लामा पछिल्लो ६ महिनामा क्षयरोगकै कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले बताए । नियमित औषधि सेवन गरे ६ महिनामै निको हुने क्षयरोगका अधिकांश बिरामी उपचारको दायरामै नपुग्दा नेपाललाई क्षयरोग मुक्त गराउने कार्यमा चुनौती थपिएको छ । ६ महिनामा स्वास्थ्य कार्यालयले ७ सय १७ जना बिरामी पत्ता लगाउनु पर्ने थियो । तर, साउनदेखि पुससम्म ५ सय १८ जना बिरामी फेला परेका छन् । जबकि, २ सय बिरामी अझै फेला परेका छैनन् । रोग पत्ता लागेर औषधि खान थालेका क्षयरोगीमध्ये १४ जना हराएका छन् ।

सामान्यतया क्षयरोग माइक्रोबेक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ भने अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा वार्षिक ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको देखाएको छ । वर्षमा करिब ३२ हजार क्षयरोगका बिरामी मात्रै पत्ता लाग्ने गरेको छ । क्षयरोगीको संख्या उच्च भएको लुम्बिनी प्रदेशको रूपन्देही पहिलो नम्बरमा र दोस्रोमा दाङ र तेस्रोमा बाँके पर्छ ।

०००

क्षयरोगी बढ्दै

लुम्बिनी– लुम्बिनी प्रदेशमा क्षयरोगीको संख्या बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा क्षयरोगीको संख्या बढेको पाइएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवस–२०२३ को अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनीमा ८ हजार ९० जना क्षयरोगी भेटिएको जनाएको छ ।

प्रदेशमा प्रति १ लाख बराबर १ सय ५७ जनामा क्षयरोग हुने गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका क्षयरोग फोकल पर्सन रामप्रसाद भट्टराईका अनुसार प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै १ हजार ७ सय ५ क्षयरोगका बिरामी भेटिएका छन् । सबैभन्दा कम रुकुम पूर्वमा ५ सय ५७ जना बिरामी रहेको उनले बताए । सरकारले आर्थिक वर्ष २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८ सय ६१ विश्व क्षयरोगका

बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव ५ प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र ८ दशमलव ७ प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका छन् ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?