२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

'बाघको दिगो संरक्षण प्रमुख चुनौती'

कमल पन्थी

बर्दिया — राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको दिगो संरक्षण नै प्रमुख चुनौती रहेको बताएका छन् । उनले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा शनिबारदेखि बर्दियामा सुरु भएको तीनदिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै महानिर्देशक डा. ढकालले राहतसँगै बिमा योजना लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

बाघबाट समृद्धि हासिल गरी स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय पनि अबको मुख्य सवाल बन्नुपर्ने महानिर्देशक ढकालको भनाइ छ ।

लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

वन मन्त्रालयका सहसचिव डा. रामचन्द कँडेलले बाघको आक्रमण हुनसक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको ट्र्याकिङ गर्न जरुरी रहेको बताएका छन् ।

आइतबारसम्म चल्ने कार्यशाला गोष्ठीमा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश कुमार थापाले जैवीक मार्ग संरक्षणमा सरकारले बजेट नपठाउँदा समस्या आउने गरेको बताए । उनले राष्ट्रिय निकुञ्जलाई प्राप्त हुने बजेटको केही रकम नियमित रूपमा संरक्षित क्षेत्रलाई छुटाउनु पर्नेमा जोड दिए ।

कार्यशाला गोष्ठीमा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारी, ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्साल सहभागी छन् ।

प्रकाशित : चैत्र ११, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?