तिलोत्तमाका १२ भूमिहीनलाई लालपूर्जा वितरण

भैरहवा — रुपन्देही तिलोत्तमाका १२ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले उपयोग गरेका जग्गाको लालपूर्जा पाएका छन् । तिलोत्तमाको विन्दुनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिका-१४ का भूमिहीनलाई पूर्जा वितरण गरिएको हो ।

त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्रका सबै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन भएकाले क्रमश: लालपुर्जा वितरण गर्ने बताए । उनले भने, ‘हाम्रो कार्यकालमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउन प्रतिबद्ध छौं । प्रतिबद्धतालाई पूरा गर्नेछौं ।’
तिलोत्तमाका ६ सय १९ जनाले भूमिहीन दलित, एक हजार ७ सय ४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५ सय ५९ जनाले अव्यवस्थित बसोबासीको लगत भरेका छन् । तिलोत्तमा नगरपालिका-१४ का वडाध्यक्ष आश्विन पौडेलले वडामा करिब एक सय सुकुम्बासी रहेको बताए । उनले नापजाँचको काम सकिएकाले प्रक्रिया पूरा गरेर पुर्जा दिने बताए ।
