कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतबाट कुखुरा तस्करी

नेपालगन्ज — नेपालगन्जको गणेशमान चोकमा कुखुरा किसान र व्यवसायीले चोकमै कुखुरा फालेर विरोध जनाएका छन् । प्रहरीका अनेक चेकपोस्ट पार गर्दै भारतीय कुखुरा सहजै भित्रिरहेको र आफूहरूको व्यवसाय धरापमा परेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । पीडित किसान तस्करी भइरहेका कुखुरा निगरानी गर्न नाकामै पुगेका छन् ।

भारतबाट कुखुरा तस्करी

रातभरि नाकामा निगरानी गरिरहेका आफूहरूले गत बिहीबार र शुक्रबार बिहान भारतीय कुखुरा समातेर प्रहरीलाई बुझाउँदा पनि पक्राउ नगरेको दाबी गरे । ‘सशस्त्र प्रहरी छ, अर्को पुलिस छ, ठाउँठाउँमा चेकिङ छ । तर पनि कुखुरा आइरहेका छन्,’ कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष धर्मराज पोखरेलले भने, ‘कोहलपुरदेखि बर्दियासम्म कुखुरा कसरी पुग्छन् ?’ करोडौं लगानीको ऋणले किसान र व्यवसायी धराशयी बनेको उनले बताए ।

उनका अनुसार नेपालमा दुई किलोभन्दा बढीका कुखुरा नै नहुने गरेकामा बजारमा चार केजीसम्मका कुखुरा पुग्ने गरेको र ती सबै भारतीय कुखुरा भएको दाबी गरे । भारतसँग खुला सीमा जोडिएको बाँकेमा आयातमा प्रतिबन्ध लगाइएका भारतीय कुखुराको तस्करी रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरी जिम्मेवार नबनेको व्यवसायीको आरोप छ ।

भारतबाट आउने कुखुरा रोकेर नेपाली व्यवसायीलाई सघाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको किसानले बताए । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आफ्ना समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष पोखरेलका अनुसार भारतबाट जमुनाह, साइगाउँ र नरैनापुर क्षेत्रबाट कुखुराको धेरै तस्करी हुने गरेको छ । बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुरा आयात र तस्करी नरोकिंदा किसान मर्कामा परेको व्यवसायी ईश्वर सुवेदीले बताए ।

जिल्लामा मागभन्दा बढी कुखुरा उत्पादन हुने गरेको अवस्थामा आयात प्रतिबन्ध लगाइएको भारतबाट तस्करी हुने र डिलरले अन्य जिल्लाबाट कुखुरा खपत गर्दा स्थानीय किसानका कुखुरा बिक्री नभइरहेको किसानको दाबी छ । पोखरेलले भने, ‘तयारी कुखुरा नै भित्रिएपछि कसले कुखुरा पाल्ने, कसले दाना किन्ने ? व्यवसायीको लगानी डुबेको छ ।’

कुखुरा व्यवसायी संघ बाँकेका अनुसार अहिले जिल्लामा करिब ५ सय किसान कुखुरा पालन व्यवसायमा संलग्न छन् । न्यूनतम ४ लाख लगानी लाग्ने कुखुरा पालनमा यस हिसाबले न्यूनतम २० करोड लगानीमा भएको छ । दैनिक २५ हजार ज्युँदो कुखुरा उत्पादन हुने गरेकामा करिब २० हजार कुखुरा मात्रै जिल्लामा खपत हुन्छन् । दैनिक ५० लाख बराबरको कारोबार हुन्छ । जिल्ला अण्डामा पनि आत्मनिर्भर छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले केही समस्या आएको र सबैको सहकार्यमा समस्या समाधान गर्ने बताए ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?