मध्यवर्ती क्षेत्र तोक्न चुनौती

रुकुम पूर्व — नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई मध्यवर्ती क्षेत्र तोक्न चुनौती देखिएको छ । १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षको ६० प्रतिशत भूगोल रुकुम पूर्वमा पर्छ । रुकुम पूर्वको पनि पुथा उत्तरगंगा गाउँपालिकाभित्र यो सिकार आरक्ष रहेको छ ।

आरक्ष क्षेत्रलाई मध्यवर्ती क्षेत्र तोक्न विगत लामो समयदेखि प्रयास गरिंदै आएको तर सार्थकता पाउन नसकेको सिकार आरक्ष तकसेरा सेक्टर कार्यालयका रेन्जर विनोद विकले बताए । पुथा उत्तरगंगाको वडा नं. १, २, ३, ४ को सबै भाग तथा १० र ११ को केही भाग सिकार आरक्ष क्षेत्रभित्र पर्ने भएपछि स्थानीयले यसमा आपत्ति जनाएका छन् । पुथा उत्तरगंगा–१० बाछीगाउँका शिरबहादुर बुढाले मध्यवर्ती क्षेत्र तोकेमा आफूहरूको उठिबास लाग्ने भएकाले विरोधमा रहेको बताए । ‘हाम्रो गाउँबस्ती सबै सिकार आरक्षभित्र पर्छ,’ उनले भने ।
सेक्टर कार्यालयका सहायक संरक्षण अधिकृत अविनाश थापाले मध्यवर्ती क्षेत्रबारेको बुझाइ गलत भएको बताए । उनका अनुसार मध्यवर्ती क्षेत्र बनेपछि त्यहाँ स्थानीय व्यवस्थापन समिति बन्ने र आम्दानीमा समेत ३० देखि ५० प्रतिशत समितिले स्थानीय हितमा प्रयोग र परिचालन गर्न पाउछ । ‘मध्यवर्ती क्षेत्र तोकेपछि यहाँका जनता र वन्यजन्तुका बीचमा सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्छ,’ आरक्ष संरक्षणमा पनि स्थानीय अपनत्व बढ्ने उल्लेख गर्दै उनले भने, ‘प्रभावित क्षेत्रका जनताको बसाइमा कुनै प्रकारको असर पर्दैन । तर, हामीले बुझाउन नै सकिरहेका छैनौं ।’
ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने पुथा उत्तरगंगा–१० को तकगाउँ । तस्बिर : महेश केसी/कान्तिपुर
आरक्षमा सिकार गर्नका लागि तोकिएका जम्मा सातवटा ब्लकमध्ये चारवटा ब्लकसमेत रुकुम पूर्वमा पर्छन् । सिकार गर्न सहजीकरण होस् बनेर ब्लक बनाएको हो । अधिकृत थापाले यी ब्लगमा बर्सेनि पालैपालो सिकार हुने बताए । सिकारका लागि पहिलो सिजनअन्तर्गत असोज र कात्तिक तथा दोस्रो सिजन चैत र वैशाखमा हुने थापाको भनाइ छ । दोस्रो सिजनका लागि सिकारी आउन थालेका छन्,’ उनले भने ।
प्रत्येक पाँच वर्षमा नावर र झारलको गणना हुने र त्यसकै आधारमा कोटा निर्धारण गरेर सिकारका लागि अनुमति दिइने गरिएको छ । यो वर्षका लागि १२ वटा नावर र ८ वटा झारलको सिकार गर्ने कोटा निर्धारण गरिएको रेन्जर विकले जनाए । सिकार आरक्ष क्षेत्रलाई मध्यवर्ती क्षेत्र तोक्न पटक–पटक छलफल भए पनि नतिजा आउन नसकेको बताउँदै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताए ।
प्रकाशित : चैत्र ९, २०७९ १०:२०